Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चारदिने भ्रमणको लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

काठमाडौँ - नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आईतवार काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल भ्रमणमा आएका छन् । लिउले आइतबार परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।

लिउ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट द्वारिकाज होटलमा गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भ्रमणको सुरुवात गर्ने कूटनीतिक स्रोतले बताएको छ । परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्त्वपूर्ण भूमिका राख्छ । त्यसको कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । पहिलो दिन कांग्रेसका नेता र प्रधानमन्त्रीलाई भेटेपछि लिउले दोस्रो दिनबाट राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउ केही दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउको नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग द्वीपक्षीय भर्चुअल संवाद गरेका हुन् ।

नेपालमा २०७४ को निर्वाचनयता ५ वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update