Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा ‘मिलेमतो’ भएको आरोप

काठमाडौँ - कक्षा १२ को उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र केही निजी विद्यालय सञ्चालकको मिलेमतोमा परीक्षण गरिएको आरोप लागेको छ । स्रोतका अनुसार निर्देशिकाविपरीत भाषाविज्ञका रूपमा बोर्डमा कार्यरत करारका दुई कर्मचारीलाई मिलेमतोअनुसार परीक्षा केन्द्रमा खटाइएको छ ।

परीक्षण केन्द्रमा पुगेर उत्तरपुस्तिका बुझेपछि मात्रै नियुक्तिपत्र दिने प्रचलनविपरीत यसपटक केही परीक्षकलाई पहिले नै नियुक्तिपत्र थमाइएको परीक्षा शाखाका एक कर्मचारीले जानकारी दिए । ‘पहिले परीक्षकको नियुक्तिपत्रमा नाम खाली राखेर दिइन्थ्यो, कापी दिँदा छासमिस पारिन्थ्यो, परीक्षण केन्द्रमा पुगेर कापी बुझेपछि मात्रै नियुक्तिपत्रमा परीक्षकको नाम कायम हुन्थ्यो,’ एक कर्मचारीले भने, ‘यसपालि नियुक्तिपत्र बोकेर परीक्षण केन्द्र पुगेका परीक्षकले तोकिएको उत्तरपुस्तिका जाँच गरेका छन् ।’ कुन शिक्षकलाई कुन विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्न दिने सम्बन्धमा योजना नै बनेको एक कर्मचारीले सुनाए । परीक्षा शाखामा कार्यरत शाखा अधिकृत लगायतका कर्मचारी हुँदाहुँदै बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त्रक कृष्ण शर्मा र सहनियन्त्रक कृष्ण घिमिरेले परीक्षण केन्द्रमा आफूनिकट करारका कर्मचारी खटाएको बोर्डका कर्मचारीहरूको भनाइ छ ।

बोर्डको भक्तपुरस्थित सानोठिमी कार्यालय, एसओएस स्कुल, आदर्श मावि, चाणक्य मावि, एम्बिसन एकेडेमी, पद्मोदय माविलगायतमा यो वर्षको परीक्षण केन्द्र तोकिएको छ । बोर्डले परीक्षाको गोपनीयता भन्दै परीक्षण केन्द्र, परीक्षक, सम्परीक्षकलगायतका सूचना गोप्य राख्छ । यही गोपनीयताको फाइदा उठाउँदै कर्मचारीले मनोमानी गर्दै आएका छन् । गतवर्ष बोर्डको विराटनगर प्रमुख डम्बर बतास उत्तरपुस्तिका वितरणमा मनोमानी गरेको आरोपमा केन्द्र तानिएका थिए ।

बोर्डले गत जेठ १६ देखि २५ सम्म सञ्चालन गरेको कक्षा १२ को उत्तरपुस्तिका शाखा कार्यालय र तोकेका परीक्षण केन्द्रमा परीक्षण चलिरहेको छ । ४ लाख १० हजार ५० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update