Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
साना किसान सहकारीमा झण्डै १३ लाख घरपरिवार जोडिए, ८५ अर्ब बराबरको पुँजी परिचालन  

चरिकोट – नेपालमा साना किसान सहकारी संस्थाहरुको पुँजी परिचालन ८५ अर्वको हाराहारीमा पुगेको छ । करिव १२ सय साना किसान सहकारी संस्था र सोही प्रकृतिका कृषि सहकारी संस्था गरी १३ सय सहकारी संस्थाहरुले ८५ अर्व वरावरको पुँजी परिचालन गरिरहेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले कुल ८५ अर्व पैसा संघमा आवद्ध भएका संस्थाहरुमार्फत किसानको हातमा परिचालन भैरहेको जानकारी दिए । जसमा ३० अर्व रुपैयाँ साना किसान विकास बैंकले विभिन्न सुलभ कर्जाहरु प्रवाह गरेको छ । बाँकी रकम सबै साना किसान सहकारी संस्थाहरुको आन्तरिक पुँजी हो । 

अध्यक्ष पाठकका अुनसार झण्डै १३ लाख घरपरिवार साना किसान सहकारी अभियानमा जोडिएका छन् । संघले सरकार, एडिवी, ईफार्ड लगायतका संस्थासँग सहकार्य गरेर किसानसम्म विभिन्न सुलभ कर्जाहरु पुर्याउने काम गर्दै आएको छ । ३ प्रतिशत, ५ देखि ९ प्रतिशतसम्मको कृषि तथा पशुपालन, उद्यमी लगायतका कर्जा संघले प्रवाह गरिरहेको छ ।

नेपालमा कसैलेपनि यो लेभलको सस्तो कर्जा नदिएको अध्यक्ष पाठकले बताए । ‘सहकारी संस्थाहरुको संख्या बढाएर मात्रै पुग्दैन, सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नसक्ने सक्षम, सुदृढ र बलियो संस्थाको विकास गर्न आवश्यक छ, पाठकले भने ।’

संघले ह्याण्डओभर गरिसकेका, साना किसान बैंकसँग आवद्ध भएका, नयाँ दर्ताको अन्तिम चरणमा रहेका साना किसान सहकारीको संख्या मात्रै १२ सय पुगेको छ । संघको नीतिलाई अंगिकार गर्ने अन्य एक सय कृषि सहकारी संस्थाहरु छन् । ‘राज्यसँग सहकारी संस्थाहरुको संख्या १३ हजार पुगेको आँकडा छ, तर ५० प्रतिशतपनि सक्रिय छैनन्, उनले भने, तर साना किसान सहकारीहरुको अवधारणा अन्तर्गत कुनै संस्था घाटामा गएको र निष्क्रिय रहेको अवस्था छैन ।’

अध्यक्ष पाठकले साना किसान कृषि सहकारी संस्थाहरुले नेपालमा आयात प्रतिस्थापनका लागि ठुलो योगदान पुर्याईरहेको र यो क्षेत्रमा अझै परिवर्तनको खाँचो रहेको औल्याए । सुलभ कर्जा, मलविउ, उत्पादित बस्तुको यथोचित बजार व्यवस्थापन सुनिश्चित भए कृषि क्षेत्रमा आमुल परिवर्तन सम्भव रहेको भन्दै उनले त्यसका लागि राज्यको कार्यकारी प्रमुख प्रधानमन्त्री नै अग्रसर हुनुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update