Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपा वाग्मती प्रदेशको १६ बुँदे विशेष निर्णय : प्रदेश सिल गर्नुपर्ने निष्कर्ष

काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाग्मती प्रदेश कमिटीले कोरोना भाईरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि १६ बुँदै निर्णय गर्दै सरकारलाई सोही अनुसार कदम चाल्न आग्रह गरेको छ । घोषित लकडाउनलाई निरन्तरता दिँदै बागमती प्रदेशका सिमानालाई सिल गर्नुपर्ने निष्कर्ष निकाल्दै नेकपा वाग्मती प्रदेशले बिदेशबाट फर्किएकाहरुको परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएको छ ।

बैठकले संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकारले सिल गर्नुपर्ने निष्कर्ष निकाल्दै सोही अनुसार कदम चाल्न आग्रह गरेको प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले जानकारी दिए ।  यस्तै, विदेशबाट आएका, क्वारेन्टाइन र आइसोलेसनमा बसेका तथा उनीहरूका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिहरूको आरडिटी र पिसिआर परीक्षणको दायरा फराकिलो गर्न बैठकले संघीय सरकार र प्रदेश सरकारलाई आह्वान गरेको छ ।

अहिलेसम्म सघन उपचार कक्ष, भेन्टिलेटर र संक्रमित बिरामीको उपचारका लागि अति आवश्यक स्वास्थ्य सामग्री, दक्ष स्वास्थ्यकर्मीहरू नभएका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र धादिङमा तत्कालै व्यवस्था गर्न बैठकले संघीय सरकारलाई अनुरोध गरेको छ । संक्रमण रोक्नका लागि पहिचान, परीक्षण, आइसोलेसन, नियन्त्रण, रोकथाम, उपचार र सम्पर्कमा आएको व्यक्तिको ट्रेसिङलाई अगाडि बढाउन, विपन्नहरूलाई व्यवस्थित, पारदर्शी र एकद्वार प्रणालीबाट राहत वितरण गर्न बैठकले ध्यानाकर्षण गरेको छ ।

प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्जहरू हितमान शाक्य, काशीनाथ अधिकारी र हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव पोखरेलबीच बसेको विशेष डिजिटल बैठकले बिभिन्न १६ बुँदे निर्णय गरेको हो ।

पूर्वाधार विकास कार्यक्रमको रकम कोभिड– १९ कोषमा राख्नुपर्ने निष्कर्ष
प्रदेश सचिव पोखरेलका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बाँकी रकम कोभिड– १९ कोषमा जम्मा गर्ने ब्यवस्था गर्नुपर्ने सुझाव बैठकले दिएको छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई दिँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको यस आर्थिक वर्षमा विकास निर्माणमा सम्झौता हुन बाँकी रकम कोभिड– १९ कोषमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाब दिने निर्णय गरिएको छ,’ उनले भने ।

निर्वाचन क्षेत्र विकाससँग जोडिएका खर्च हुन बाँकी रकम सांसदहरूले कोभिड कोषमा जम्मा गरेर कोरोना रोकथामका लागि खर्च गर्न दबाव बढिरहेको सन्दर्भमा नेकपा वाग्मती प्रदेशले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको सम्भावित जोखिम, सरकार र पार्टीले तत्काल चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न बागमती प्रदेशका पदाधिकारीहरूको विशेष डिजिटल बैठक बसेको हो ।

सिमानाका नेपालीलाई स्वदेश फर्काउनुपर्ने
प्रदेश कमिटीको बैठकले सिमानामा आएका नेपालीलाई स्वदेश फर्काउनुपर्नेमा जोड दिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘कूटनीतिक ढंगबाट भारत र नेपाल सरकारको बीचमा दुवैतर्फका नागरिक जहाँ छन् त्यहीँ नै क्वारेन्टाइनमा राख्ने सहमति भए पनि नेपालीहरू मुलुक फर्कन चाहन्छन् र लुकिछिपी नेपाल प्रवेश गरिरहेका छन् । यसबारेमा थप कूटनीतिक पहल गरी सिमानामा आएका नेपालीलाई स्वदेश फिर्ता गरी आ–आफ्नो ठाउँसम्म पुऱ्याउन तत्काल व्यवस्था गर्नुपर्छ ।

खाद्यान्नमा आत्मनिर्भर हुने बजेटको माग
बैठकले नयाँ आर्थिक वर्षमा मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्र केन्द्रित बजेट ल्याउन सरकारसँग माग गरेको छ । आगामी बजेट निर्माण गर्दा आत्मनिर्भर अर्थतन्त्रको राष्ट्रिय नीति बनाई खाद्यान्नमा आत्मनिर्भर हुने गरी नेपालका खेतीयोग्य जमिनको पूर्ण उपयोग गरी कृषि उत्पादनमा जोड दिई कोभिड– १९ को संक्रमणको प्रभावबाट मानव जीवनको रक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि बजेट विनियोजन गर्न बैठकले आव्हान गरेको छ । लकडाउनको कारण किसानले कृषि उत्पादनले बजार र लागतअनुसारको मूल्य नपाएको र खेतको समयमा कृषि सामग्रीको अभाव भएकाले यसको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारलाई आह्वान गरिन्छ,’ बैठकको निर्णयमा भनिएको छ ।

विस्तृत निर्णयहरु हेर्न यहाँ क्लीक गर्नुस्

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update