चरिकोट - दोलखा जिल्लाका नौ वटा स्थानीय तहको कुल बजेटको आकार ५ अर्व ६९ करोड ९६ लाख १ हजार पुगेको छ । आगामी आर्थिक वर्ष २०७९÷को लागि जिल्ला स्थित ९ वटै पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । दोलखामा जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । जिल्लाका सबै स्थानीय तहको बजेटमा पूर्वाधार विकासलाई जोड दिईएको छ ।
भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट ल्याएकोमा पूर्वाधार विकास प्राथमिकतामा परेको छ । भौतिक पूर्वाधार विकास तर्फ नगरपालिकाले ३४ करोड ३१ लाख २३ हजार अर्थात कुल बजेटको ३८.१२ प्रतिशत विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ६ करोड ६८ लाख अर्थात ७.४२ प्रतिशत, सामाजिक विकासतर्फ ३५ करोड १५ लाख २३ हजार अर्थात ३९.०६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ करोड ०१ लाख ६२ हजार अर्थात ३.३५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ८४ लाख ६२ हजार रुपैयाँ अर्थात १२.०५ प्रतिशत व्याय बिवरण प्रस्तुत गरिएको छ ।
यसैगरी कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट ल्याएकोमा ६० प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाएको छ । आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत, वातावरण तथा विपत व्यवस्थापन तर्फ ३ प्रतिशत र संस्थागत विकासतर्फ २ प्रतिशत बजेट खर्च गर्ने गाउँपालिकाको प्रस्ताव छ ।
गौरीशंकर गाउँपालिकाले पनि पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि ५६ करोड ९८ लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा पालिका र वडाको पुर्वाधार विकासतर्फ मात्रै कुल १० करोड ९१ लाख रुपैँया बजेट प्रस्ताव गरिएको छ ।
यस्तै बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको ५५ करोड ४ लाख ३० हजार रुपैयाँको बजेटमा पुर्वाधार विकासमा सबैभन्दा बढि १० करोड ६० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव छ । सडक कालोपत्रे, सबै वडा कार्यालयको सुरक्षा घेरावार, स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।
मेलुङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ६६ लाख २४ हजार रुपैयाँ छ । जसमा भौतिक पूर्वाधार विकासतर्फ २३ करोड ३३ लाख छुट्याईएको छ । बजेटमा आर्थिक विकासतर्फ ४ करोड १ लाख, सामाजिक विकास तर्फ २१ करोड ६८ लाख ६२ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहह तर्फ १ करोड ५९ लाख ५० हजार, प्रशासनिक तथा अन्य तर्फ ५ करोड ७९ लाख ६२ हजार र गाउँपालिकाको पुँजीगत तर्फ ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
जिल्लाको शैलुङ गाउँपालिकाले ६० करोड २ लाख १० हजार, तामाकोसी गाउँपालिकाले ६५ करोड ५ लाख ६४ हजार, जिरी नगरपालिकाले ५६ करोड ६९ लाख ७८ हजार रुपैयाँ र विगु गाउँपालिकाले ५५ करोड ४२ लाख ७० हजार रुपैयाँको बजेट ल्याएकोमा पूर्वाधार विकासतर्फ महत्वका साथ बजेट विनियोजनको प्रस्ताव गरिएको छ ।