काठमाण्डौं - चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले आफुहरुमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले प्रहरीमा जाहेरी दिएका छन् । दुवै युवती सिनो हाइड्रोमा कार्यरत हुन् । सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल नकर्मी विरुद्ध उनीहरुले काठमाडौं प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका हुन् ।
शनिबार आज पुनः दुवै पीडितका तर्फबाट वृत्तमा आरोपित नकर्मीविरुद्ध अभद्र व्यवहारको कसुरमा पनि जाहेरी परेको छ । दुर्व्यवहार र कुटपिट एक वर्षअघि भए पनि आरोपित नकर्मीलाई सिनो हाइड्रोले पुनः नियुक्ति दिन खोजेपछि घटना बाहिरिएको हो ।
सिन्धुपाल्चोककी २४ वर्षीया पीडितले २०७८ वैशाखमा सिनो हाइड्रोको व्यवस्थापनलाई छानबिन गर्न दिएको उजुरीमा नकर्मीले बारम्बार आफूसँग विवाहको प्रलोभन दिएर यौन शोषण गर्न खोजेको र नमानेपछि कुटपिट गरेको उल्लेख छ ।
आरोपित भनिएका नकर्मीविरुद्ध गत मंसिरमा सोही कार्यालयमा कार्यरत दोलखा घर भएकी अर्की २९ वर्षीय युवतीमाथि पनि यौन दुव्र्यवहार गरेको उजुरी परेको छ । दोलखा घर भएकी उनी अर्की सहकर्मी सिन्धुपाल्चोक गएका कारण एक्लै काममा फर्किएकी थिइन् । त्यही मौकामा नकर्मीले आफुलाई विवाहको प्रलोभन दिएर यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ ।
सुरुमा बहिनी भनेर सम्बोधन गर्ने गरेका उनले एक्लै भेटेको बेला विवाह गर्न दवाव दिएको र नमानेपछि शरीरका विभिन्न भागमा जबर्जस्ती समाउने गरेको र प्रतिकार गर्दा उल्टै दुर्यवहार गरेर गालीगलौजपूर्ण अपशब्द प्रयोग गर्ने गरेको पीडित युवतीले बताइन् । यो विषय पनि बाहिरिएपछि कारबाहीको डरले नकर्मीले २०७८ पुस २४ मा राजीनामा दिएका थिए ।
त्यसपछि यो विषय साम्य भएको थियो । तर व्यवस्थापनले पटक–पटक दुव्र्यवहारको कसुरमा मुछिएका नकर्मीलाई पुनः रोजगारीका लागि पुरानै जिम्मेवारी दिएर फर्काउन खोजेपछि दुवै पीडित युवती आरोपितविरुद्ध जाहेरी लिएर बुधबार काठमाडौं प्रहरी वृत्त महाराजगञ्ज पुगेका हुन् । पीडितको उजुरीपछि सिनोका व्यवस्थापकलाई पनि प्रहरीले घटनाबारे बुझ्न बोलाएको थियो । तर आरोपित भने अझै पक्राउ परेका छैनन् ।