चरिकोट – दोलखाको विगु र कालिञ्चोक गाउँपालिका जोड्ने झोरुङखोला स्थित मोटरेवल पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । शुक्रवार राती भारी वर्षासँगै खोलामा आएको बाढीले पुलको ढलानको लागि तयारी अवस्थामा राखिएको संरचना भत्किएको छ । खोलामा आएको बाढीका कारण ढलानको लागि तयार गरिएको ग्याविन भासिएपछि त्यसमाथिको फलामे टेको वगेको छ भने फर्मा लगायतका संरचना खोलामा झर्न लागेको छ । ठकेदारले कहीदिनमा पुलको ढलान कार्य अघि बढाउने तयारी गरेको थियो ।
खोलामा आएको बाढीका कारण ग्याविन बगेपछि विगु गाउँपालिका वडा नम्बर ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडामा सिंगटी तर्फको यातायात सेवा अवरुद्ध भएको छ ।
ठेकेदार कम्पनीले वर्षायामको समयमा ढलानको काम सुरु गर्ने तयारी गर्दा यस्तो समस्या उत्पन्न भएको हो । ईन्धनको
मुल्य बढेसँगै निर्माण सामाग्रीको मुल्यमा आएको उत्तरचढाव देखाउँदै ठेकेदार कम्पनीले पुलको काममा ढिलासुस्ती गरेको जनाईएको छ । ठेकदार कम्पनीको तर्फबाट साईटको जिम्ममा लिएका प्रेम तामाङले कोरोना महामारी, ईन्धन र निर्माण सामाग्रीको मुल्यबृद्धिका कारण पुल निर्माणमा ढिलाई भएको बताए । ठेकेदार कम्पनीसँग गाउँपालिकाले गरेको सम्झौता अनुसार पुल निर्माणको दुई वर्षे अवधि यही आर्थिक वर्षमा सकिँदै छ ।
म्याद सकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपका लागि गाउँपालिकालाई प्रस्ताव गरेको छ । पुल निर्माणमा भएको ढिलाई र बाढीले पुर्याएको क्षतिको विषयमा गाउँपालिका गम्भिर ध्यानाकर्षण भएको र ठेकेदार कम्पनीलाई छलफलका लागि बोलाईएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिईन् ।
गाउँपालिकाले उक्त पुल निर्माणको जिम्मा दुई वर्ष अघि वानिया–त्रिवेणी लाफा जेभिलाई दिएको थियो । झण्डै साँढे ३ करोडको बोलपत्र आव्हान गरेकोमा ठेकेदार कम्पनीले कवोल गरेको २ करोड १६ लाख ४६ हजारको प्रस्ताव स्वीकृत गरिएको थियो । सिंगटी हाईडोको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने मोडालिटीमा गाउँपालिकाले उक्त पुलको ठेक्का लगाएको हो ।
स्थानीय टेकमान तामाङले पुलको निर्माण कार्य छिटो सक्न पटक पटक ताकेता गर्दापनि बेवास्ता गरिएको कारण यस्तो अवस्था आएको बताए ।