जिरी - दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम र ५६ करोड ६९ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख मित्र जिरेलको अध्यक्षतामा आज भएको नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकीले आगामी आवका लागि चालुतर्फ ३५ करोड ५६ लाख अर्थात ६२.७२ प्रतिशत तथा पुँजीगत तर्फ २१ करोड १३ लाख ७८ हजार अर्थात ३७.२८ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
जिरी नरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा कृषि अनुदान, दिगो र वातावरणमैत्री स्थानीय पुर्वधारको विकास, रोजगारीको अवसर सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई दिगो बनाउने लगायतका कार्यक्रमहरु समेटिएका छन् । यसैगरी तुलनात्मक लाभ भएका निर्यात योग्य प्रतिष्पर्धी कृषि उत्पानमा वृद्धि, पर्यटन पुर्वधारको विकास, गुणस्तरीय शिक्षाको विकास तथा स्वास्थ्यमा सम्पुर्ण नगरबासीको पहुँच र गुणस्तरीय सार्वजनिक सेवालाई बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिगो भौतिक पुर्वधार र सुधारिएको सडक यातयात सञ्जाल निर्माण गर्ने, स्थानीय उत्पादन र उत्पादकत्वलाई अधिवृद्धि गरी नगरबासीलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने, कृषिमा आयमुलक रोगजारी सिर्जना गरी युवा जनशक्तिलाई कृषिपेशामा आर्कषित गर्ने, विदेशबाट फर्किएका जनशक्तिलाई स्थानीय रोगजारी र आर्यआर्जनको व्यवस्था मिलाउने, गुणस्तरीय र सीपमुलक दक्ष जनशक्ति निर्माण गर्ने, नगरका हरेक क्रियाकलापलाई कार्यविधिमैत्री एवं बजेट प्रणालीमा आवद्ध गराई सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई सर्वसुलभ भरपर्दो र गुणस्तरीय एवं नागरिकमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।