Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव

चरिकोट – दोलखाको मेलुङ गाउँपालिका आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज आयोजित गाउँसभामा अध्यक्ष हिराकुमार थोकरले गाउँपालिकाको नीति तथा कार्यक्रम र उपाध्यक्ष गायत्री आचार्यले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्ष आर्थिक विकासतर्फ ४ करोड १ लाख, सामाजिक विकास तर्फ २१ करोड ६८ लाख ६२ हजार, भौतिक पूर्वाधार विकासतर्फ २३ करोड ३३ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहह तर्फ १ करोड ५९ लाख ५० हजार, प्रशासनिक तथा अन्य तर्फ ५ करोड ७९ लाख ६२ हजार र गाउँपालिकाको पुँजीगत तर्फ ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । 

बजेट प्रास्तुत गर्दै उपाध्यक्ष आचार्यले आगामी आर्थिक वर्षको कुल बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा ४४ करोड ४३ लाख ६० हजार, प्रदेश सरकारबाट ९ करोड ७७ लाख ६० हजार र गाउँपालिकाको स्रोत तथा गत आर्थिक वर्षको वचतबाट ४ करोड १४ लाख ८८ हजार प्राप्त हुने जानकारी दिनुभयो । 

मेलुंङको प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमा व्यवसायिक तरकारी, फलफुल खेती, पशुपालन मेलुङको सान, आलु उत्पादनमा हाम्रो आफ्नै पहिचान भन्ने नाराका साथ कृषि उत्पादनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले युवाहरुलाई कृषिमा प्रोत्साहन गर्न उद्यम विकास कोष स्थापना गर्ने योजना अघि सारेको छ । यसैगरी जनप्रतिनिधि सुत्केरी भेटघाट कार्यक्रम, सुत्केरी पोषण भत्ता कार्यक्रम, साँस्कृति प्रदर्शनी मेला, संग्रहालय निर्माण जस्ता कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ । गाउँपालिकाको पूर्वाधार विकासका लागि योजना बैंकको प्रस्ताव ल्याईएको छ भने स्मार्ट मेलुङ अभियान पनि आगामी आर्थिक वर्षमा संचालन गरिने भएको छ । 

गाउँपालिका अध्यक्ष हिराकुमार थोकरको सभाध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष आचार्यले न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभयो ।  

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update