चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि गौरीशंकर गाउँपालिकाले ५६ करोड ९८ लाख बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको आज आयोजित गाउँसभामा उपाध्यक्ष श्यामसुन्दर तमाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित कुल ५६ करोड ९८ लाख ३५ हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा पुर्वाधार विकास अन्तर्गत पालिकातर्फ ५ करोड ८१ हजार र वडातर्फ ५ करोड १० लाख गरी १० करोड ९१ लाख रुपैँया बजेट छुट्याईएको छ । यसैगरीकृषि तथा पशुपंक्षि विकास तर्फ १ करोड, शिक्षा र खेलकुदतर्फ २ करोड ५० लाख, स्वास्थ्यतर्फ ८० लाख र विपद व्यवस्थापनतर्फ ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तावित बजेटका लागि संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १२ करोड २ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ३ करोड १३ लाख ५० हजार, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत १० करोड २३ लाख ६३ हजार, प्रदेश सरकारबाट सवारी साधन कर राजस्व बाँडफाँड बापत २ करोड ४४ लाख ६८ हजार प्राप्त हुनेछ ।
यसैगरी संघीय सरकारबाट ससर्त अनुदान बापत २२ करोड ९६ लाख, संघीय सरकारबाट विशेष अनुदान २ करोड, समपुरक अनुदान ७० लाख, प्रदेश समपुरक अनुदान २ करोड र प्रदेश ससर्त अनुदान वापत २ करोड १८ लाख १७ हजार बजेट प्राप्त हुनेछ । नयाँ आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३० लाख जुट्ने प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा भएको गाउँसभामा न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको छ ।