चरिकोट – दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सदरमुकाम चरिकोट स्थित नगरपालिकाको कार्यालयमा आज आयोजित नगरसभामा उपप्रमुख कमला बस्नेतको तर्फबाट नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत भएको हो ।
बस्नेतका अनुसार आगामी आर्थिक वर्ष आर्थिक विकासतर्फ ६ करोड ६८ लाख अर्थात ७.४२ प्रतिशत, सामाजिक विकासतर्फ ३५ करोड १५ लाख २३ हजार अर्थात ३९.०६ प्रतिशत, भौतिक पूर्वाधार विकास तर्फ ३४ करोड ३१ लाख २३ हजार अर्थात ३८.१२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ करोड ०१ लाख ६२ हजार अर्थात ३.३५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ८४ लाख ६२ हजार रुपैयाँ अर्थात १२.०५ प्रतिशत विनियोजनको प्रस्ताव गरिएको छ ।
बजेटमा कृषितर्फ २ करोड ८२ लाख ५० हजार, पशुविकासतर्फ १ करोड ३५ लाख, सिंचाईतर्फ ७० लाख ५० हजार, पर्यटनतर्फ २ करोड ९२ लाख ७७ हजार, शिक्षातर्फ २५ करोड ५१ लाख १४ हजार, स्वास्थ्यतर्फ ५ करोड ७४ लाख ८३ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । यसैगरी खनेपानी तथा सरसफाईतर्फ १ करोड ३९ लख ३० हजार, भषा संस्कृति तथा ललितकला संरक्षणतर्फ २४ लाख, खेलकुदतर्फ ७९ लाख ५ हजार, लैगिक समानता तथा समावेशीकरणतर्फ १ करोड ५६ हजार ९१ हजार, सडक तथा पुलतर्फ ९ करोड ७ लाख ६७ हजार, भवन तथा सहरी विकासतर्फ २१ करोड ९३ लाख ८१ हजार बजेट छुट्याईएको छ । यस्तै उर्जा तथा जलविद्युत तर्फ १४ लाख, सुचना तथा संचारतर्फ २८ लाख, विपद व्यवस्थापन तर्फ ३९ लाख कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १० करोड ८४ लाख ६२ हजार विनियोजनको प्रस्ताव छ ।
प्रस्तावित कुल बजेटमध्ये चालुतर्फ ४८ करोड ४३ लाख ७० हजार अर्थात ५३.८१ प्रतिशत र पुँजीगत तर्फ ४१ करोड ७ लाख रुपैया अर्थात ४५.६३ प्रतिशत रहेको छ ।
नयाँ आर्थिक वर्षमा प्रस्तावित कार्यक्रमहरुका लागि आन्तरिक स्रोतबाट ३ करोड ३ लाख ६० हजार जुट्ने नगरपालिकाको प्रक्षेपण छ । यस्तै ७ करोड १० लाख ८० हजार रुपैयाँ चालु आर्थिक वर्षको जिम्मेवारी सर्ने मौज्दात सर्ने अनुमान छ । १८ करोड ७० लाख रुपैयाँ संघीय सरकारको वित्तिय समानीकरण अनुदान, ३७ करोड ६४ लाख ससर्त अनुदान गरी जम्मा ५६ करोड ३४ लाख रुपैयाँ प्राप्त हुनेछ ।
वाग्मती प्रदेशबाट समानीकरण अनुदानतर्फ १ करोड ८६ लाख ५५ हजार, ससर्त अनुदान २ करोड ७६ हजार ५० हजार र समपुरक अनुदान २ करोड ९० लाख ६५ हजार रुपैयाँ गरी जम्मा ७ करोड ६१ लख ७० हजार प्राप्त हुने नगरपालिकाको प्रस्तावित बजेटमा उल्लेख छ । संघीय सरकारबाट राजस्व वाँडफाँडबाट १० करोड २८ लाख ६२ हजार र प्रदेशबाट ५ करोड ६१ लख ९८ हजार गरी जम्मा १५ करोड ९० लाख ६० हजार रुपैयाँ प्राप्त हुनेछ । नगरप्रमुख ईश्वर नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा उपप्रमुख बस्नेतबाट न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत भएको थियो ।