Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक

हेटौंडा - बागमती प्रदेशमा नयाँ सहकारी संस्था दर्ता नहुने भएको छ । प्रदेश सरकारले नयाँ सहकारी संस्थाहरु दर्ता तत्कालका लागि वन्द गर्ने निर्णय गरेको हो । सहकारी संस्थाको दर्ता प्रक्रियाबारे आएका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलले प्रदेशको नियमकानुन परिमार्जन तथा थप कार्यविधिहरु तर्जुमा गनुपर्ने भएकाले तत्कालका लागि नयाँ सहकारी संस्था दर्ता प्रक्रिया रोकिएको बताए । उनका अनुसार हाललाइ बचत ऋण र बहुद्देश्यीय सहकारी दर्ता बन्द गरिएको हो ।

तर आवश्यकताका आधारमा बचत ऋणको मुख्य कारोबार नगर्ने गरी अन्य विषयगत सहकारी संस्था भने दर्ता हुने मन्त्रालयका अधिकारीहरुको भनाई छ । विगतमा स्थानीय तहको शिफारिष सहित सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा बचत तथा ऋण, बहुउद्देश्यीय र सबै प्रकृतिका संस्था दर्ता हुँदै आएका थिए ।

विगतमा दर्ता भएका सहकारीहरुले उद्देश्य अनुरुप र कार्यक्षेत्रभित्र रही काम गरे नगरेको समेत मन्त्रालयले अनुगमन गर्ने भएको छ । उद्देश्यअनुरुप काम नगर्ने संस्थाको विषय परिवर्तन र लिएको कार्यक्षेत्रभित्र सदस्य विस्तार गर्न नसके कार्यक्षेत्र संकुचन गर्ने तयारी छ । बागमती प्रदेशले ३२९ सहकारी संस्था दर्ता गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update