हेटौंडा - नेपाली कांग्रेसले वाग्मती प्रदेश सरकार परिवर्तन गर्ने कसरत सुरु गरेको छ । कांग्रेस नेताहरुले पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व आफुले पाउनुपर्ने भन्दै सरकारको नेतृत्व परिवर्तनको तयारीमा लागेका हुन् । हाल सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्दै आएका छन् ।
कांग्रेसले आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार पार्टी संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माग गरेको छ । वाग्मती प्रदेशसभाको बैठक असार १२ गतेका लागि बोलाइएको छ । ‘तत्कालीन समयमा ६र६ महिनाको अन्तरालमा आलोपालो गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार अब कांग्रेस नेतृत्वको सरकार गठन हुने कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले बताए । असार २५ गतेभित्र नयाँ मुख्यमन्त्री फेरिने गरी कांग्रेसले तयारी गरिरहेको उनको भनाई छ ।
पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादीका २३, कांग्रेसका २२, नेकपा (एस) का १३ र जसपाका एकसहित ५९ सांसदको समर्थन छ । कांग्रेसले सहमतिअनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग राखे पनि मुख्यमन्त्री पाण्डेले सरकार परिवर्तनको सम्भावना नरहेको र केन्द्रीय नेतृत्वको निर्देशनपश्चात मात्र पछाडि हट्ने बताउँदै आएका छन् । कांग्रेस ससंदीय दलका नेता बानियाँले आधा(आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र कार्यान्वयन गर्न दबाब दिन थालेपछि पछिल्लो समय दुई जनाको सम्बन्ध चिसिएको छ ।
बानियाले सहमतिअनुसार अब मुख्यमन्त्री परिवर्तन हुने उनले दाबी गरे । बानियाँले आफू मुख्यमन्त्री बन्ने निश्चित रहेको भन्दै आगामी आवको बजेटमा धेरैभन्दा धेरै योजना समेट्न समेत दबाब दिएका थिए । उनका अनुसार केन्द्र सरकारले निर्वाचन आयोगको सुझावअनुसार असारको अन्तिम सातासम्ममा प्रदेश र संघको निर्वाचनको मिति तोक्ने सम्भावना रहेका कारण त्यसअघि नै यस विषयको टुंगो लाग्नेछ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल पनि सरकार परिवर्तनको पक्षमा उभिएका छन् । उनले हाल आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका जम्मकट्टेल सत्तारुढ दलबीच भएको सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले भने सत्तापरिवर्तनको विषय केन्द्रको निर्णय र निर्देशनमा निर्भर रहेको प्रतिक्रिया दिएका छन् । तत्काल मुख्यमन्त्री फेरबदल हुने सम्भावना नदेखिएको दाबी उनले गरे । पाण्डेले पार्टीको शीर्ष नेताबाट आफू मुख्यमन्त्री नरहनेबारे निर्णय आएमा तत्काल मान्न तयार रहेको बताए ।