Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड 

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७२ करोड भन्दा ठुलो बजेट सार्वजानिक गरेको छ । आज आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले नीति कार्यक्रमसँगै कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँ बरावरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।  

जसअन्तर्गत संघीय सरकारको समानीकरण अनुदान १४ करोड ५३ लाख, प्रदेश सरकार समानिकरण अनुदान एक करोड ४० लाख १७ हजार, संघीय सरकार शसर्त अनुदान २८ करोड ४ लाख, प्रदेश ससर्त अनुदान २ करोड ६२ लाख ४ हजार, संघीय राजस्व बाँडफाँड ९ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सवारी कर १ करोड ८२ लाख ५० हजार, प्रदेश विशेष अनुदान २ करोड २५ लाख, गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ९२ लाख १० हजार, प्रदेश समपुरक अनुदान ३ करोड, संघीय विशेष अनुदान १ करोड र संघसंस्था मार्फत कार्यक्रम ५ करोड पचास लाख रुपैयाँ रहेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।  

संविधानले व्यवस्था गरेको एक दिन अगावै आज गाउँसभा बोलाएर कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको हो । कालिञ्चोक गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै कुल बजेटको ६० प्रतिशत बजेट विनियोजन गरेको छ । आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत, वातावरण तथा विपत व्यवस्थापन तर्फ ३ प्रतिशत र संस्थागत विकासतर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

प्रत्येक वडाको एउटा सडकको लागि १/१ करोड, वडाहरुको भुगोल जनसंख्या पिछडिएको क्षेत्रलाई समेत आधार मानेर ५ करोड बजेट विनियोजन गरिएको छ । सिचाईतर्फक २ करोड ४८ लाख ४ हजार, २ सय १०, थामी भाषा पाठ्यक्रम ७ लाख, स्नातक तहको प्राविधिक छात्रवृत्तिको लागि ५ लाख, लापिलाङ माविमा वाली विज्ञानमा अध्ययनरत विद्यार्थीको लागि ५ लाख, विद्यालयहरुको कम्प्युटर खरिदमा १८ लाख, शिक्षक र कर्मचारीको क्षमता ७ लाख, सिंगटी अस्पतालको स्तरोनतीको लागि २५ लाख छुट्याईएको छ ।

वालकक्षा शिक्षकको लागि खाईपाई आएको तलव सुविधामा ५ हजार बृद्धि गरिएको छ भने अस्थायी करार, सहयोगीको तलव १५ हजार पुर्याएको छ । यसैगरी पशु रोगको पहिचान तथा उपचारको लागि ११ लाख ५० हजार, विपन्न नागरिक औषधी बितरणको लागि १० लाख बजेट छुट्याईएको छ ।  

युवा स्वरोजगारसँगको सहकार्यमा स्वरोजगार कार्यक्रम संचालका लागि ५० लाख, गाईभैसी प्रवद्र्धन कार्यक्रम तर्फ ९० लाख, गोठखोर निर्माण तथा सुधारमा ९ लाख, फलफुल उत्पादन तथा बजारीकरण उद्योग स्थापनाका लागि १० लाख, घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि ५ लाख बजेट विनियोजन गरिएको छ । गाउँसभा गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update