चरिकोट – दोलखाको भीमेश्वर नगरपालिकाका ६ वटा वडाहरुमा यही महिनादेखि नयाँ लाईनबाट खानेपानी बितरण सुरु गरिने भएको छ । सदरमुकाम चरिकोट स्थित चरिकोट शहरी खानेपानी तथा सरसफाई आयोेजनाले यही असार महिनाको अन्तिम हप्ताबाट नयाँ लाईनबाट खानेपानी बितरण सुरु गर्ने तयारी गरेको हो ।
आयोजनाको पहिलो चरण अन्तर्गत यही असार २५ गतेदेखि नयाँ लाईनबाट उपभोक्ताहरुलाई खानेपानी बितरणको तयारी गरिएको चरिकोट शहरी खानेपानी तथा सरसफाई आयोजनाका परामर्शदाता विरेन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार आयोजनाबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर २ देखि ७ सम्मका ४ हजार ५ सय ७५ उपभोक्ता लाभान्वित हुँदैछन् ।
फन्डेड एजेन्सी र नेपाल सरकारको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरी कुल ७४ करोड ७३ लाख १७ हजार ३ सय रुपैयाँमा आयोजना निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको हो । बिभिन्न १२ वटा मुहानको पानी प्रयोग गरिएको आयोजनाबाट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताले प्रयोग गर्न पाउनेछन् । प्रशोधन केन्द्रबाट शुद्धिकरण गरी चौविसै घण्टा खानेपानी बितरण गर्नेगरी तयारी भैरहेको महर्जनले बताए ।
देउराली भन्दा माथितिरको स–साना मुहानलाई माथिल्लो भिउटावर सिस्टम, हातिछहरा मुहानको भुतपोखरी सिस्टम, चरङगे र घटटे मुहानको पानी बर्खेमन सिस्टममा संकलन गरी खानेपानी बितरण गर्ने तयारी छ ।
भीमेश्वर नगरपालिका–३ र ६ को चरिकोट बजार, वडा नं.४ जिलूका उपभोक्ता आयोजनाबाट सबैभन्दा बढी लाभान्वित हुनेछन् । यसैगरी वडा नम्बर २ दोलखाको ६० प्रतिशत, वडा नं. ३ को ९८ प्रतिशत, वडा नं. ४ को सत प्रतिशत, वडा नं. ५ माटी को ६० प्रतिशत वडा नं. ६ को ९९ प्रतिशत र वडा नं. ७ को ४५ प्रतिशत उपभोक्ताले पानी उपभोग गर्ने छन् ।
खानेपानी आयोजनाका अनुसार आयोजनाको ८८.१६ प्रतिशत भौतिक प्रगति भएको छ । परामर्शदाता महर्जनका अनुसार खानेपानीका ट्याङ्की लगायतका अधिकांस संरचनाको निर्माण कार्य सम्पन्न भैसकेका छन् । पानीको ४७ किलोमिटर मुख्य प्रसारण लाइन निर्माण कार्य सम्पन्न भैसकेको छ भने १४९ किलोमिटर वितरण लाइन निर्माणको काम भैरहेको छ । आयोजनामा ४ वटा पानी शुद्धीकरण प्लान्ट, १३ वटा रिजर्भवेर ट्याङ्की रहेका छन् । पानीको नियमित रेखदेखका लागि चरिघ्याङमा निर्माण गरिएको कन्ट्रोल रुममा अत्याधुनिक प्रविधि जडान गरिएको छ ।
आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि सदरमुकाम चरिकोटसहित ६ वटा वडाका उपभोक्ताहरु खानेपानी समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।