Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा 

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या आरोपीहरुमध्ये अदालतले एक जनालाई मात्रै पर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, झ्याँकु सर्सेपुका २४ वर्षिय युवक यानबहादुर बस्नेतको हत्या घट्नाबारे आज अदालतमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि जिल्ला न्यायधिस कवि प्रसाद न्यौपानेको ईजलासले आरोपी मध्ये मृतक युवकको प्रेमिका भनिएकी युवतीलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यो आदेशसँगै युवती कारागार चलान भएकी छन् । उनी मुद्दाको किनारा नलागुञ्जेल थुनामा रहने भएकी छन् । २० वर्ष नकटेकाले उनको पहिचान खुलाईएको छैन । यसैगरी अदालतबाट घट्नाका अर्का आरोपित व्यक्ति युवतीका वुवालाई १ लाख धरौटी र अन्य पाँच जनालाई साधरण तारिखमा छाड्ने आदेश भएको दोलखा जिल्ला अदालतका श्रेष्तेदार शिव कुमार पोखरेलले जानकारी दिए ।

युवतीका वुवा एक लाख धरौटी बुझाएर आजै रिहा भएका छन् भने अदालतको आदेशसँगै अन्य पनि साधारण तारिखमा छुटेका छन् । उनीहरु उपर अनुसन्धान कार्य भने जारी रहनेछ । आरोपितहरुको बयान सकिएर थुनछेक बहसपछि अदालतले आज यस्तो आदेश दिएको हो । 

घट्नाबारे प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले युवकको ज्यान जानेगरी भएको घटनाका ७ जना आरोपितहरु बिरुद्ध जन्मकैद सजायको माग गर्दै अभियोग पत्र दायर गरेको थियो ।  स्रोतका अनुसार हत्यामा संलग्न भनिएकी मृतक युवककी १९ वर्षिया प्रेमिकाले प्रहरी र अदालतमा फरक फरक वयान दिएकी छन् ।  प्रहरी अनुसन्धानको क्रममा युवकको हत्या स्वीकार गरेकी युवतीले अदालतमा दिएको वयानमा भने हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेकी छन् । 

गत जेठ १० गते राती घट्ना भएपनि युवकको शव भोलीपल्ट विहान युवतीको घरबाट करिव ७० मिटरको दुरीमा जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तीन साता लामो समय अनुसन्धानपछि युवकको कर्तव्य गरी हत्या गरिएको निष्कर्ष निकालेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update