चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक बृद्धाबाट लुटिएको सुन प्रहरीले वरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङबाट लुटिएको सुनको गरगहना प्रहरीले बरामद गरेको हो ।
स्थानीय शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धानपछि घट्नास्थलबाट नजिकै रहेको मन्दिर परिसरमा प्लाष्टिकले पोको पारेर राखेको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ । घट्नास्थल खटिई गएको प्रहरी टोलीले हिजो घट्नास्थलबाट करिव ७० मिटरमाथि बारीमा पातेको दानाहरु फेला पारेको थियो । वरामद भएको सुन आजै वृद्धालाई लगेर फिर्ता गर्ने प्रहरीले जनाएको छ । सदरमुकाम चरिकोट स्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले यस्तो जानकारी गराएको हो ।
घट्नामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनीहरुको पहिचान खुलाएको छैन । यद्यपी उनीहरु स्थानीय रहेको जनाईएको छ ।
गत जेठ ३० गते मध्यान्ह साढे १२ बजेको समयमा दुईजना अज्ञात व्यक्तिहरुले बृद्धाले कान र गलामा लगाएको सुन लुटपाट गरी फरार भएका थिए । कानमा लगाएको रिङ चुड्दा बृद्धाको कान समेत लुछिएको थियो । लुटपाटबारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए ।