काठमाडौं - विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भनिने बिश्व तामाङ रहेका छन् ।
तामाङले गत जेठ २९ गते २४ वर्षीया युवतीलाई फकाई विवाह गर्ने प्रलोभनमा काठमाडौंको भोटेबहालमा रहेको एक गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ । तामाङले महिलालाई पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाई महिलासँग साथमा रहेको एक लाख रुपैयाँ नगद, दुई तोला सुन र मोबाइल समेत लुटेर फरार भएका थिए । महिला आफू बलात्कारमा परेको र नगद सुनसमेत लुटेको भन्दै गत जेठ ३१ गते प्रहरी बृत्त कालीमाटीमा उजुरी दिएकी थिइन् ।
लगत्तै प्रहरीले थापाथली स्थित प्रसुती गृह अस्पतालमा लगि पीडित महिलाको बिस्तृत स्वास्थ्य र शारीरिक अवस्था परीक्षण गराई अनुसन्धानको कार्य शुरु गरेको थियो । पीडकको नाम, थर, ठेगाना समेत थाहा नभएको, फोटो समेत नरहेको अवस्थामा प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको हो । तामाङले गेष्ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नं मार्फत डाटा इन्ट्री गराएका थिए ।
अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्न आएको र घटनापश्चात भागी फरार रहेककोले खोजतलास गर्ने क्रममा प्रहरी बृत्त कालीमाटीबाट खटिएको बिशेष प्रहरी टोलीद्वारा तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।