चरिकोट – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ मा नमुना सोलिङ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भैरहेका काम गुणस्तरहिन र उपलब्धीहिन भएको गुनासो आईरहेका बेला कालिञ्चोकमा नमुना सोलिङ भएको हो । गाउँपालिकाको वडा नम्बर-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडकमा गरिएको सोलिङ हेर्न लायक छ ।
उक्त कार्यक्रमबाट कालिञ्चोक–१ स्थित विभिन्न ग्रामिण सडकमा ९ सय मिटर सोलिङ कार्य गरिएको छ । कार्यक्रमको अनुगमन गरिरहेका कालिञ्चोक गाउँपालिकाका सब–ईन्जिनियर प्रकास थामीका अनुसार सडकमा ४ मिटर चौडाईको ६ सय मिटर र ३ मिटर चौडाईको ३ सय मिटर सोलिङ कार्य सम्पन्न भएको छ । उक्त कामका लागि दैनिक ३५० जना स्थानीय खटिरहेका छन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत कालिञ्चोक–१, लागि ३९ लाख ६३ हजार बजेट परेको थियो । जसमा अधिकांस रकम सडकको सोलिङ र स्तरोन्नती कार्यमा खर्च गरिएको छ । यावलखोला–पिनडाँडा, वालोद्धय–तीनडाँडा–तारेभिर, वडा कार्यालयदेखि वालोद्धय माविसम्मको सडकको सोलिङ र सिढी निर्माणमा उक्त रकम खर्च भएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले वडा नम्बर १ का सडकहरुको स्तरोन्नतीका साथै धेरै स्थानीयले रोजगारी प्राप्त गरेको वडा अध्यक्ष पदमबहादुर थामीले बताए । ‘बजेटको सदुपयोगपनि भयो, स्थानीयले रोजगारीपनि पाए, कामपनि राम्रो भएको छ, वडाअध्यक्ष थामीले भने, ‘सबैभन्दा पछाडी परेको वडाको विकासका लागि सहयोग गर्न कसैले कन्जुस्याँई गर्नुभएन, हामी राम्रो काम गरेर देखाउँछौं ।’