Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको झ्याँकु घट्नाका अभियुक्तहरु बिरुद्ध जन्मकैद सजायको माग, युवतीको वयान फेरियो

चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या आरोपीहरु बिरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३, झ्याँकु सर्सेपुका २४ वर्षिय युवक यानबहादुर बस्नेतको हत्या आरोपीहरु बिरुद्ध सोमवार दोलखा जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो । घट्नाबारे प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले युवकको ज्यान जानेगरी भएको घटनाका ७ जना आरोपितहरु बिरुद्ध जन्मकैद सजायको माग गर्दै अभियोग पत्र दायर गरेको हो । 

घट्नाका आरोपितहरुमध्ये ५ जना बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७७ (१) अनुसारको कसुर अपराध अपराध गरेको भन्दै जन्मकैदको माग गरिएको छ । उक्त कसुर प्रमाणित भए २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसैगरी अन्य दुई जना नावालकको हकमा वालवालिका सम्बन्धि ऐन २०७५ को दफा ३६ अनुसारको सजाय माग दाबी पीडितहरुको तर्फबाट गरिएको छ । जसमा दोषी प्रमाणित भएमा उमेरसमुह अनुसार आधा वा दुई तिहाईसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ । 

प्रतिवादीहरुमा नावालक समेत रहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन । घट्नाका सात जना आरोपितहरुमध्ये दुई जना नावालाक रहेका छन् । प्रहरी अनुसन्धानकै क्रममा अदालतले एक जनालाई साधारण तारेख र अर्का एक जनालाई सुधारगृहमा पठाउने आदेश दिईसकेको छ ।  

युवतीको वयान फेरियो
स्रोतका अनुसार घट्नाका अभियुक्तमध्ये अदालतले सोमवार दुई जनाको वयान समेत लिएको छ । हत्यामा संलग्न भनिएकी मृतक युवककी १९ वर्षिया प्रेमिका र उनका वुवाको वयान भएको र बाँकी तीन जनाको वयान मंगलवार हुनेछ । स्रोतले दिएको जानकारी अनुसार प्रहरी अनुसन्धानको क्रममा युवकको हत्या स्वीकार गरेकी युवतीले अदालतमा वयान फेरेकी छन् ।

प्रहरीसँग ती युवतीले घर प्रवेश गरेर रातको समयमा विवाहका लागि जवरजस्ती गर्न खोजेपछि प्रतिकारका क्रममा युवकको घाँटी अठ्याउँदा मृत्यु भएको वयान दिएकी थिईन् । तर अदालतमा वयानका क्रममा उनले मापासे गरेर घरमा आएको र पछि कसरी मृत्यु भयो ? आफुलाई थाहा नभएको भन्दै हत्या गरेको कुरा अस्वीकार गरेकी छन् । प्रहरीसँगको वयानमा आफु दवावमा परेर फरक वोल्न पुगेको बिरोधाभासपूर्ण वयान युवतीको छ । उनका बुवाले पनि घट्नाको दिन आफु गोठमा रहेको भन्दै हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालय दोलखाले केहीदिन अघि मात्रै पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जनाएको थियो । पत्रकार सम्मेलनमा प्रहरीले रातको समयमा घरमा प्रवेश गरेर विवाहका लागि जवरजस्ती गर्न खोजेपछि प्रतिकारका क्रममा घाँटी अठ्याउँदा युवकको मृत्यु भएको युवतीले वयान दिएको बिवरण सार्वजनिक गरेको थियो । 

गत जेठ १० गते राती घट्ना भएपनि युवकको शव भोलीपल्ट विहान युवतीको घरबाट करिव ७० मिटरको दुरीमा जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तीन साता लामो समय अनुसन्धानपछि युवकको कर्तव्य गरी हत्या गरिएको निष्कर्ष निकालेको थियो । 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update