Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन्

चरिकोट – दोलखामा जेठ मसान्तसम्मको अवधिमा ९ सय २५ मेट्रिकटन भन्दा बढी मल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा ९ लाख २५ हजार १ सय किलोग्राम मल भित्रिएको तथ्यांक छ । दोलखामा मल आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुली शाखाका अनुसार उक्त परिमाणको युरिया, डिएपी, पोटास मल र कृषि चुन आपुर्ति भैसकेको छ ।

कम्पनीका सिन्धुली शाखा प्रमुख नवराज महतले दोलखा जिल्लाका विभिन्न स्थानीय तहले सिफारिस गरेका संस्थाहरुमार्फत अनुदानमा किसानहरुलाई बितरणका लागि उक्त मल आपुर्ति गरिएको जानकारी दिए । जसअनुसार मेलुङ गाउँपालिकामा ३५६.७५० मेट्रिकटन, जिरी नगरपालिकामा ८.७५० मेट्रिकटन, भीमेश्वर गारपालिकामा २५९.०५० मेट्रिकटन, वैतेश्वर गाउँपालिकामा ६२.२५० मेट्रिकटन मल भित्रिएको छ । 

यसैगरी शैलुंग गाउँपालिकामा ११५.६०० मेटिकटन, तामाकोसी गाउँपालिकामा ७३.४०० मेट्रिकटन र कालिञ्चोक गाउँपालिकामा ४९.३०० मेट्रिकटन मल आएको छ । शैलुङ गाउँपालिकामा साल्ट टे«डिङ कम्पनी लिमिटेडबाट पनि जेठ ३१ पछि १५ टन मल आपुर्ति भएको तथ्यांक छ । तर जिल्लामा मलको चरम अभावसँगै कालोबजारी मौलाएको व्यापक जनगुनासो आईरहेको छ । 

सरकारले दिएको अनुदान अनुसार युरिया मल ५० केजीको प्रतिबोरा ८२४ रुपैयाँ, डिएपी ५० केजीको प्रतिबोरा २२८९, पोटास ५० केजीको प्रतिवोरा १६६५ र कृषि चुन २५ केजीको प्रतिवोरा १८५ रुपैयाँले बिक्रि गर्नेगरी जिल्ला भित्रिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुदानको मल व्यवस्थापन जिल्ला स्तरिय संयन्त्र खारेज भएपछि अहिले  स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा रहेको समितिलाई उक्त कामको जिम्मा दिईएको छ । दोलखामा ३९ वटा सहकारी संघ संस्थाहरुले अनुदानको मल ल्याउने जिम्मा पाएका थिए । 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update