चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आईतवार दिनभर सतर्कता अपनाउन तामाकोसी नदी तटिय क्षेत्रका स्थानीय बासिन्दालाई आग्रह गरेको छ । आयोजनाको जलाशय र बेसिन फ्लसिङ गर्नुपर्ने भएकोले नदिको तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको हो ।
४५६ मेगावाट क्षमताको आयोजनाको जलासय र बेसिन फ्लसिङ गर्ने क्रममा नदीमा पानीको सतह घटबढ हुने भएकाले सतर्कता अपनाउनुपर्ने आयोजनाले जनाएको छ । आयोजनाले एक सार्वजानिक सूचनामार्फत तामाकोशी नदीको तल्लो तटिय क्षेत्रमा पर्ने गांगर, जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तिसहित सुनकोशी नदीको दोभानसम्मका स्थानीयलाई सतर्क रहन भनेको छ ।
आईतवार विहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्मको समयमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने, वस्तुभाउ लैजाने, गिटीवालुवा निकाल्ने जस्ता कार्य नगर्न र नदी किनारमा परम्परा अनुसार मृतकहरुको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक गराउन सबैमा अनुरोध गरिन्छ, सूचनामा भनिएको छ ।