Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पोल्याण्ड पठाउने भन्दै दोलखा सहरेकी युवतीको २० लाख ठगी, दोषीबिरुद्ध मुद्दा दायर

काठमाण्डौं - वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगीमा परेकी दोलखाकी एक महिलाको तर्फबाट ठगी गर्ने व्यक्ति बिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।  दोलखामा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौंको कागेश्वरी मनहरा बस्दै आएका चन्द्र बहादुर भुजेलकी ३० वर्षिय छोरी सरिता भुजेलको तर्फबाट विभागले मुद्धा दायर गरेको हो ।

पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी २० लाख २० हजार रुपैयाँ ठगी गरेर नपठाएको पाइएपछि विभागले सप्तरी घर भई अहिले काठमाण्डौ सुकेधारा बस्ने पूर्ण कुमार दाहाल विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

उनले जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेका थिए । तर २० लाख २० हजार रुपैयाँ रकम लिएपछि नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित सरिताले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिईन् ।

 विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र दफा ४३ विपरीतको कसुर गरेको भन्दै पूर्ण कुमारलाई लिएको रकम २० लाख २० हजार र त्यसको ५० प्रतिशतले हुने आउने हर्जना रकम १० लाख १० हजारसमेत गरी ३० लाख ३० हजार मागदावीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।  

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update