काठमाण्डौं - युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गर्ने कार्यमा दोलखाका युवाहरुपनि सक्रिय रहेको खुलेको छ । उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखाका दुई जना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई नियन्त्रणमा लिईएको हो । कार्यालयका प्रहरी उपरीक्षक एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए ।
त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए । पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।