चरिकोट – दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेत स्थानीय विद्यालयमा लेखापालको काम गर्थे । जेठ ११ गते बस्नेतको शव जंगलमा झुन्डिएको अवस्थामा फेला पर्यो । घट्ना शंकास्पद देखिएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको हत्या गरेर झुन्ड्याइएको निष्कर्ष निकालेको छ । घटनामा प्रेमिका र उनको परिवारकै संग्लनता रहेको प्रहरीको निष्कर्ष छ ।
युवक र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुबीचको सम्बन्ध एकान दुकान मैदान भयो । दुबै जनाको परिवारले दुईबीचको सम्बन्ध थाहा पायो । मामा भान्जी नाता पर्ने भन्दै बिवाह गर्न नमिल्ने र बिवाह गरे समाजले गाउँनिकाला गर्ने परिवारले युवतीलाई सम्झाए ।
तर यानबहादुरले ती युवतीसँग बिवाह गर्ने मनस्थिति बनाईसकेका थिए । प्रहरीका अनुसार बिवाहमा परिवार बाधक बन्ने देखेपछि गत जेठ ११ गते बेलुका करिब ९ बजेको समयमा यानबहादुर युवतीको बुवाआमा घर नभएको मौकामा युवतीको घर गए र भागी बिवाह गर्ने प्रस्ताव राखे ।
तर किशोरीले उक्त कुरा अस्वीकार गरिन् । त्यसपछि भाग्न जबरजस्ती गर्न खोजेपछि प्रतिकार गर्ने क्रममा घाँटी अठ्याउँदा युवकको मृत्यु भएको वयान किशोरीले प्रहरीलाई दिएकी छन् । युवतीको घरमा दुईजनाबीच केही घण्टा बिवाद चलेको प्रहरीको भनाई छ । परिवारको सल्लाहपछि पछिल्लो समय किशोरीले बिवाह नगर्ने मनस्थिति बनाएको हुनसक्ने प्रहरीको आशंका छ ।
युवकको मृत्युपछि घाँटीमा डोरी बाँधेर दश मिटरको दुरीसम्म घिसारेको प्रहरीको वयानमा किशोरीले स्वीकार गरेकी छन् । त्यसपछि अन्य व्यक्तिको सहयोगमा डोरी आधा टुक्रा पारी ७० मिटरको दुरीमा जंगलको रुपमा बाँधी घट्नालाई झण्डिएर आत्माहत्या गरेको देखाउने प्रयास भएको प्रहरीको भनाई छ ।
दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगा पौडेलले युवतीको वयान र पोष्टमार्टम रिर्पोटको आधारमा प्रहरी युवकको कर्तव्य गरी हत्या गरेको निष्कर्षमा पुगेको र अन्तिम टुंगो अदालतले लगाउने बताए । ‘घट्नाको सबै प्रकृति हेर्दा प्रेम सम्बन्ध बिवाहको कुरा बाहेक अन्य कारण देखिएको छैन, कर्तव्य गरी हत्या गरिएको कुरा प्रष्ट छ, ‘पौडेलले भने, सोही प्रमाणहरुसहित अभियुक्तहरुलाई अदालत बुझाउँछौं ।’
प्रहरीले पीडित पक्षको किटानी जाहेरीका अनुसार युवतीसहित परिवारका ६ जना र छिमेकी एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । घट्नामा संलग्न नभएको अभियोगमा प्रहरीले सातै जनालाई केहिदिनमा अदालत बुझाउँदैछ ।
कक्षा ११ मा अध्ययनरत ती किशोरी गत स्थानीय तह निर्वाचनमा म्याद प्रहरी समेत बनेकी थिईन् । प्रहरीको अनुसन्धानमा उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको देखिएको छ ।