Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा

हेटौंडा – वागमती प्रदेश सरकारको बजेटमा चुनावलक्षित वितरणमुखी कार्यक्रमहरुले प्राथमिकता पाएको छ । लोकरिझ्याइँका कार्यक्रमलाई जोड दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । प्रदेशले आफ्नो खर्च र स्रोत क्षमता भुलेर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ ।

वागमती प्रदेश सरकारको बजेट चालु आर्थिक वर्षको भन्दा १३ अर्ब २१ करोड ८३ लाख रुपैयाँले ठुलो छ । प्रदेशले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।  प्रदेश संघीय सरकारबाट जाने अनुदान, राजस्व र रोयल्टी बाँडफाँटको रकममा निर्भर रहनुपर्ने वाध्यता छ । आन्तरिक स्रोत अर्थात राजस्वको अंश निकै न्यून छ । चालु आर्थिक वर्षमै खर्च हुन नसकेको बजेटलाई आगामी वर्षका लागि स्रोतका रूपमा उपयोग गर्ने प्रदेश सरकारको ध्याउन्न देखिन्छ । 

बजेटमा चुनावकेन्द्रित कार्यक्रम बढी देखिन्छन् । वाग्मती प्रदेशले पर्यटन प्रवर्दनका लागि भन्दै आगामी आर्थिक वर्षलाई घुरफिर वर्ष घोषणा गरेको छ । एकीकृत समाजवादीले नेतृत्व गरेको यस प्रदेशले ‘नमुना वडा समाजवादी कार्यक्रम’ का लागि २५ करोड रुपैयाँ छुट्याइएको छ । त्यस्तै व्यवसाय गर्नका लागि निब्र्याजी बीउपुँजी किस्ताबन्दीमा वितरण गर्ने भन्दै ५० करोड रुपैयाँ राखिएको छ । 

उत्पादन तथा रोजगारी कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमका लागि एकमुष्ट २ अर्ब रुपैयाँ छुट्याइएको छ । एक माध्यमिक विद्यालय एक नर्स, वाग्मती सभ्यता एकीकृत कार्यक्रम, रुबी भ्याली विकास कार्यक्रम जस्ता योजना पनि बजेटमा परेका छन् ।

कृषि अनुदान कार्यक्रम खारेज गरेको वाग्मती प्रदेशले दुग्ध उत्पादक किसानको प्रोत्साहन रकम बैंक खातामार्फत भुक्तानी गर्ने तथा प्याज र लसुन १० क्विन्टलभन्दा बढी उत्पादन गरे प्रतिकिलो १ रुपैयाँका दरले अनुदान दिने घोषणा गरेको छ । सरकारले सबै दलको चित्त बुझाउन कनिका छराइजस्तो वितरणमुखी बजेट ल्याएको छ । 

बजेटमा काभ्रेको राम्चेदेखि दोलखाको खरिढुंगासम्म चौरी राजमार्ग निर्माण गर्ने भन्दै ५ करोड बजेट छुट्याएको छ । प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले बढाउँदै मासिक दुई हजार महंगा भत्ता दिने घोषणा पनि प्रदेश सरकारले गरेको छ । 

प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका लागि धादिङमा, काठमाडौँ उपत्यकाका लागि काठमाडौँमा, सिन्धुली, चितवन र मकवानपुरका लागि मकवानपुरमा, रामेछाप, दोलखा, काभ्रे र सिन्धुलीका लागि काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गर्ने भएको छ । साथै स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न घुम्ती स्वास्थ्य शिविर, स्याटेलाइट क्लिनिक र टेली मेडिसिनलगायत माध्यम प्रयोग गर्ने व्यवस्था मिलाइने छ ।

यस्ता छन् दोलखासँग जोडिएका योजना :
१. लाङटाङ, जुगल, गणैश तथा गौरीशङ्कर हिमाल क्षेत्रमा साहसिक तथा पर्वतीय पर्यटन प्रबद्र्धन गरिने छ । तामाकोशी, भोटेकोशी, त्रिशुली, नारायणी लगायतका नदीहरुमा जल पर्यटनको विकास गरिनेछ । दोलखा जिल्लाको पर्यटकियस्थल जिरी क्षेत्रको एकिकृत गुरुयोजना कार्यन्वयन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ । जिरीमा मानवनिर्मित पर्यटकिय तालको निर्माण गर्न रु। १५ करोड विनियोजन गरिएको छ ।

२. हेटौंडा, भक्तपुर, त्रिशुली, सिन्धुली र पशुपति चौलागाँई स्मृति अस्पताललाई क्रमशः स्तरोन्नति गरी विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, सुविधा सम्पन्न प्रयोगशालासहितको भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेटको गरिएको छ । यी अस्पतालबाट महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मेमोग्राफी मेसिन मार्फत निःशुल्क सेवा प्रदा गर्ने व्यवस्था मिलाईएको छ । 

३. रसुवा, नुवाकोट र धादिङ जिल्लाका लागि धादिङमा, काठमाण्डौ उपत्यकाका लागि काठमाण्डौमा, सिन्धुली, चितवन र मकवानपुर जिल्लाका लागि मकवानपुरमा र रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका लागि काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिनेछ ।

४. दोलखा जिल्लाको लामाबगर हुँदै चिनको सिमाना जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्न रु. १० करोड विनियोजन गरिएको छ । काभ्रे जिल्लाको राम्चेदेखि दोलखा जिल्लाको खरिढुङ्गा जोड्ने चौँरी राजमार्ग निर्माणका लागि रु.५ करोड विनियोजन गरिएको छ ।

५. लाङटाङ, जुगल, गणेश र गौरीशङ्कर हिमाल क्षेत्रमा साहसिक तथा पर्वतीय प्रवद्र्धन गरिने छ भने तामाकोसी, भोटेकोसी, त्रिशूली, नारायणीलगायतका नदीमा जल पर्यटनको विकास गरिने बजेटमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update