काठमाण्डौं - काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा रामेछाप, ओखलढुंगा युवाहरु पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनुसार मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा, टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारी र म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ रहेका छन् ।
घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो। बायाँ कानमुनि चोट लागेका उनी उपचारपछि डिस्चार्जसमेत भैसकेका छन् । घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएको प्रहरीले जनाएको छ ।
१० दिन अघि कलेजमा बास्केट बल खेल्दा विद्यार्थीहरूबीच बिबाद भएको थियो। त्यही विषयलाई कलेजमा मंगलबार दुई पक्षबीच झगडा हुन लागेपछि रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।