चरिकोट – जिल्ला समन्वय समिति दोलखाले आज नयाँ नेतृत्व पाउँदैछ । हालका पदाधिकारी तथा सदस्यको कार्यकाल सकिएसँगै जिससको नयाँ पदाधिकारी तथा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन गराउँदैछ । जसका लागि १९ जनाको उम्मेदवारी दर्ता भएको छ । मतदानको लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ ।
सत्तारुढ गठबन्धन दलहरुले संयुक्त र नेकपा एमालेले एकल उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनको तर्फबाट जिससको प्रमुखमा माओवादी केन्द्रबाट बर्जुराम घतानी (कृष्ण) उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जे शेर्पा तथा एमालेबाट प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा गोमा केसी चुनावी मैदानमा छन् । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तामाकोसी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य नानीकाजी तामाङ पनि प्रतिस्पर्धामा छन् । गठबन्धनबाट ७ जना सदस्यहरुमा कांग्रेसका कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पाको उम्मेदवारी छ ।
यसैगरी नेकपा एमालेबाट सदस्य पदमा जिरीबाट जंके बहादुर श्रेष्ठ, तामाकोसीबाट नरबहादर कार्की, मेलुङबाट कमल लकेन्द्री, शैलुङबाट नवराज कार्की, महिला तथा सिमान्तकृतबाट देवी बसेल, महिला सदस्य कविता मुग्राती र एकमाया भुजेल निर्वाचन लड्दैछन् ।
मतदानपछि आज मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । निर्वाचनमा जिल्लास्थित ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदान गर्नेछन् । जसमा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसको १ जना रहेका छन् । जिससको पदाधिकारी तथा सदस्यहरुमा आफ्ना उम्मेदवार विजयी हुने दुबै पक्षको दाबी छ ।