Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा नदीजन्य पदार्थ उत्खनन् तथा विक्रीबितरणमा रोक लगाउने निर्णय

चरिकोट - दोलखा जिल्लामा नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरण लगायतका कार्यहरुमा रोक लगाईएको छ । असार १ गते अर्थात भोलीदेखि लागु हुनेगरी भाद्र मसान्तसम्मको लागि नदिजन्य पदार्थ उत्खनन् कार्यमा पुर्ण रोक लगाउने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति अन्तर्गतको ढुंगागिट्टी बालुवा उत्खनन्, विक्री तथा व्यवस्थपन सम्बन्धी नियमन गर्न गठित जिल्ला अनुगमन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरण कार्यलाई वातावरणीय परीक्षण प्रतिवेदन समेतका आधारमा विधिसम्मत, व्यवस्थित र मर्यादित बनाउन सरकारको निर्देशन अनुसार यस्तो निर्णय गरिएको जिसस प्रमुख डवल पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रतिवन्ध लगाईएको अवधिमा कोहीकसैबाट नदिजन्य पदार्थ उत्खनन् र विक्री बितरण गरेको पाईएमा नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही हुनेछ । यस्तै हालसम्म नियमानुसार जिल्लाभर उत्खनन् भएका नदीजन्य पदार्थको स्टक प्रमाणित गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित नगर तथा गाउँपालिका र सम्बद्ध पक्षले मिलाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update