Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सबै उपाय लगाएर किसानलाई मल उपलब्ध गराउन सरकारलाई प्रतिनिधिसभाको निर्देशन

काठमाडौँ - प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन निर्देशन दिएको हो ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि उक्त विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो ।

विशेष प्रस्तावमा भनिएको छ, कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।

सभामुख सापकोटाले भटृराईसमेतले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गरेको अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमा ४८ सांसदले सहभागिता जनाएको पनि जानकारी दिए । सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्न र मन्त्रीले दिएको जवाफका आधारमा सभाले उक्त निर्देशन दिएको हो ।


 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update