चरिकोट - चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा दोलखामा ९४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाले उपलव्ध गराएको तथ्यांक अनुसार गएको साउन महिना देखि यही जेठ २५ गतेसम्मको अवधिमा ती व्यक्तिहरुले बिभिन्न घट्नामा परी ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार विगत वर्षको तुलनामा जिल्लामा बिभिन्न घट्नामा परी मृत्यु हुनेको संख्या घटेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी ४० जनाको झुण्डिएर मृत्यु भएको छ । झुण्डिएर मृत्यु हुनेमा २८ जना पुरुष, ७ जना महिला र ५ जना वालवालिका रहेका छन् ।
विष सेवन गरेर ६ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्यांक छ । लडेर, डुवेर र जलेर ३० जनाको मृत्यु भएकोमा २२ जना पुरुष, ४ जना महिला र ४ जना महिला रहेका छन् । यसैगरी सोही अवधिमा कर्तव्य गरी ७ जना पुरुषको हत्या भएको छ । सवारी दुर्घट्नामा परी ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । ४ जना पुरुष र २ जना महिलाको मृत्युको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्षको १२ महिनामा दोलखामा ७० वटा आत्माहत्या सम्बन्धि घट्ना भएको थियो । सवारी दुर्घट्नामा १२ जनाको मृत्यु भएको थियो भने ३ जनाको कर्तव्य गरी हत्या गरिएको थियो ।