Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डलरको भाउले कायम गर्यो नयाँ रेकर्ड

काठमाडौँ - नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । सोही क्रममा एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको छ । यो हालसम्मकै बलियो र बलियो हो । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ (बिक्री दर) तोकेको छ । बिहीबारका लागि यस्तो दर १ सय २४.७३ रुपैयाँ र बुधबार १ सय २४.६८ रुपैयाँ तोकिएको थियो ।

यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा शुक्रबार डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको हो ।

गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो ।

पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update