Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोक जिससमा एमाले र माओवादीबीच तालमेल, आगामी चुनावमापनि गठबन्धन गरेर जाने समझदारी

चौतारा - सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले जिल्ला समन्वय समितिसँगै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गरेर जाने समझदारी गरेका छन् । शिर्ष नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा वकालत गरिरहेका बेला सिन्धुपाल्चोकमा यस्तो समझदारी भएको हो । 

एमाले र माओवादीबीच जिल्ला समन्वय समितिको भोलि आइतवार हुने चुनावमा गठबन्धन गर्ने सहमति भैसकेको छ । उक्त सहमतिसँगै दुई दलबीच यो गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म लैजाने समझदारी भएको दुवै दलका जिल्ला नेताहरुले बताएका छन् ।

जिसस निर्वाचनमा कांगे्रेसले भने नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको छ । नेकपा एसले माओवादीको समर्थनमा साँगाचोकगढी चौतारा नगरपालिकाको उपमेयर जितेको थियो । कांग्रेसलाई समन्वय समिति बनाउँन चाहिने १ मत नेकपा एसले दिएपछि कांग्रेसले उसलाई उपप्रमुख दिएको छ । 

यसबीचमा एमाले सिन्धुपाल्चोक इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरवहादुर तामाङ, नेताहरु अरुण नेपाल, सरेश नेपाल, कमल नेपाल तथा माओवादीका जिल्ला इन्चार्ज माधव सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुली लगायतका नेताहरुबीच छलफल भएर जिससमा जित्ने अवस्था नभए पनि आगामी चुनावमा वाम गठबन्धन गरेर जानुपर्ने निष्कर्ष निकालेका छन् । दुवै दलका जिल्ला अध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा वामपन्थीहरको मतको रक्षा र दीर्घकालीन महत्वलाई ध्यानमा दिँदै मुलुकमा वामपन्थीहरुको एकताको माग बढ्दै गइरहेको उल्लेख गरेका छन् । 

सिन्धुपाल्चोकमा गत स्थानीय तह निर्वाचनमा पनि कतिपय पालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । जिसस निर्वाचनका सन्दर्भमा दुबै दलका जिल्ला अध्यक्षहरुले आधिकारिक रुपमा वक्तव्य नै जारी गरेर आगामी निर्वाचनमा पनि वाम गठबन्धनको आवश्यकतामा जोड दिएका हुन् । नेताहरुका अनुसार दुवै दलका जिल्ला नेतृत्वका शीर्ष नेताहरुबीच सहमति भएरै आगामी चुनावसम्मको गठबन्धनका लागि यो वक्तव्य जारी गरिएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update