Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न निर्वाचन कार्यालय दोलखाको आग्रह

चरिकोट - जिल्ला निर्वाचन कार्यालय दोलखाले फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ । आउँदो असार १ गतेदेखि सुरु हुने मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा सहभागी हुन कार्यलयले सबैलाई आग्रह गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय दोलखाका कार्यालय प्रमुख अधिकृत शकुन्तला राईले आगामी प्रदेश तथा संघको निर्वाचनलाई लक्षित गरी जिल्लामा नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न लागिएकाले सहभागी हुन सबैलाई आव्हान गरिएको जानकारी दिईन् ।

उनका अनुसार अनुसार हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धेरैले आफ्नो नाम छुटेको गुनासो गरेपछि गत माघ २५ गतेदेखि स्थगित गरिएको नामावली संकलन तथा दर्ता कार्य पुन सुचारु गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय सिंगटी, जिल्ला निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली दर्ता तथा अद्यावधिक गराउन सकिने छ । 

असार १ गतेदेखि नयाँ मतदाताको नाम संकलन, अन्य जिल्लाका मतदाताको दर्ता कार्य र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने काम सुरु गरिने कार्यालय प्रमुख राईले बताईन् । कार्यालयले बिवाह तथा बसाई सराईका कारणले मतदानको नाम ठाउँ सारी गर्ने, मतदाता नामावलीमा झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने र मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढि स्थानमा समावेश भए एक स्थानमा मात्र कायम मौका पनि दिनेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update