चरिकोट - दोलखामा बिभिन्न घट्नामा परी मृत्यु हुने क्रम बढेको छ । जिल्लामा एक महिनाको अवधिमा मात्रै बिभिन्न घट्नामा परी ७ जनाले ज्यान गुमाएका छन् । । कतिपय घट्ना भिरबाट लडेर, खोलाले वगाएर वा आत्माहत्या गरेर भएका छन् भने कतिपय घट्ना शंकास्पद रहेका छन् ।
शकांस्पद मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले पछिल्ला घट्नाहरु प्रायः भवितव्यको रहेको र शंकास्पद घट्नाहरुबारे अनुसन्धान भैरहेको बताए । जिल्लाको तामाकोशी गाउँपालिकामा शुक्रवार थप एक महिलाको शव फेला परेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ७ हाँवाकी ५१ वर्षिय मानकुमारी सुनुवार मृत फेला पारेकी हुन । बिहिवारदेखि वेपत्ता रहेकी सुनुवारको शुक्रवार भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
केहीदिन अघि मात्रै भीमेश्वर नगरपालिकामा एक युवती र विगु गाउँपालिकामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका थिए । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ मा एक युवकको शंकास्पद रुपमा मृत्यु भएको घट्नाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।