Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना रोकथाम अझ ब्यवस्थित र प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेशले संकटको बेला अवान्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । कालो बजारी, तस्करी, भ्रष्टाचारका घट्ना भएको सुन्न आएको भन्दै वाग्मती प्रदेश संगठन कमिटीले त्यस्ता कार्य गर्ने बिरुद्ध कानुन अनुसार कारबाही अघि बढाउन माग गरेको हो ।

नेकपा प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद पोखरेलले आईतवार संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सामग्री अभाव हुन नदिन र कही कतै भ्रष्टाचार भए कानुन अनुसार कारबाही अगाडी बढाउन माग गर्दछौँ ।’ जारी विज्ञप्तीमा स्वास्थ्य सामग्री अभाव हुन नदिन तर्फ सरकारको ध्यानाकर्षण गराईएको छ ।

सचिव पोखरेलले कतिपय निजी स्वास्थ्य संस्थाले शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण र उपचारमा तदारुकता नदेखाएको गुनासो आएकाले त्यस्ता अस्पतालहरुलाई सरकारी दायरामा ल्याएर व्यवस्थित गर्नुपर्ने बताए । सीमामा रोकिएका नेपालीहरुलाई स्वदेश आउने अनुकुल वातावरण बनाई उचित जनशक्तिका साथ क्वारेन्टिन र आईसोलेसनमा राख्ने व्यवस्था तत्काल गर्नपनि जारी विज्ञप्तीमा माग गरिएको छ ।

विज्ञप्तीमा आफ्नो स्रोत साधनको पहुँच बढाउदै संक्रमण रोक्न र जनतालाई नियमित जीवनका आधारभूत सेवा प्रदान गर्न पनि आव्हान गर्दै परिस्थिति अनुसार पुनः लकडाउन थपिन सक्ने सम्भावना रहेकोले सबै जनसमुदाय सदाझैं साबधानी अपनाई लकडाउनलाई सफल पार्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update