काठमाडौँ — विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्र ४० वर्षयताकै खुम्चिने प्रक्षेपण गरेको छ । अर्धवार्षिक साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै बढ्ने उल्लेख गरेको हो ।
सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धि हांसिल गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयले समेत कोरोना प्रभावका कारण यो वृद्धिदर हासिल नहुने स्वीकार गरिसकेको छ । गत साता एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले मात्रै बढ्ने आकलन गरेको थियो । विश्व बैंकको प्रतिवेदनले एडीबीले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।
लामो समयसम्म कोभिड–१९ को प्रभाव रहिरहे आर्थिक वृद्धिदरमा थप गिरावट आउनसक्ने विश्व बैंकको प्रक्षेपण छ । कोरोना प्रभाव रहिरहे आगामी वर्ष सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि सुधार देखिने विश्व बैंकको अनुमान छ । नेपाल मात्रै नभएर दक्षिण एसियाका आठ वटै मुलुकको अर्थतन्त्र कोरोनाका कारण प्रभावित हुने विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ ।