काठमाडौँ — पर्साको विरगञ्जमा रहेका ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका काठमाण्डौं ल्याईएको थियो । काठमाडौंमा गरिएको परीक्षणमा पनि तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना पोजेटिभ देखिएको हो ।
संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् । तीन जनाकै स्वाबमा कोभिड संक्रमण भेटिएको टेकुस्थित प्रयोगशाला स्रोतले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको जनाएको छ । कोरोना पोजेटिभको सूचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।
शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो ।
शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ ।