Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंको जग्गा कित्ताकाटमा कडाई, चारआना भन्दा माथिमात्रै कित्ताकाट गर्न पाईने

काठमाडौं  - के काठमाण्डौं उपत्यकामा जग्गा कित्ताकाट गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने जग्गा कित्ताकाटबारे सरकारले ल्याएको नयाँ नियम पालना गर्नुपर्ने भएको छ । सरकारले जग्गाको कित्ताकाटमा कडाई गर्दै भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ल्याएको नयाँ नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम एक सय ३० वर्गमिटर ९४ आनामा मात्र टुक्राउन पाइने छ । 

तर, कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएको अवस्थामा भने सोही प्रयोजनका लागि मात्र कित्ताकाट गर्न सकिने नियमावलीमा उल्लेख छ । जग्गाको कित्ताकाट गर्न सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड बनाउने भएका छन् ।

निमायवली अनुसार ५ सय वर्गमिटर भन्दा सानो कित्ताको जग्गाको चौडाइ भन्दा लम्बाइ चार गुणा बढी हुनु पर्ने समेत प्रावधान नियमावलीमा समेटिएको छ । तराई र भित्री मधेशमा ६ सय ७५ मिटर भन्दा सानो हुने गरी कृषि क्षेत्रको कित्ताकाट गर्न नपाइने भएको छ । यी भू(भागभन्दा बाहेक भने एक हजार वर्ग मिटर हुनुपर्ने गरी तोकिएको छ ।

नियमावली अनुसार जग्गाको चक्लाबन्दी, एकीकरण, बस्ती विकास, सामूहिक खेती तथा सहकारी खेती सम्बन्धी आधार, मापदण्ड र कार्यान्वयन योजना बनाएर प्रदेश सरकारले लागू गर्न सक्ने भएका छन् ।

हेर्नुहोस् भू–उपयोग नियमावलीः

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update