चरिकोट – धेरै सुनिने जनगुनासो हो, भोट फकाउन चुनावका बेला नेताहरु बारबार जनताको घरघरमा आउँछन् र दुई हात जोड्ने गर्दछन् । जब चुनाव जित्छन् नाकमुख देखाउँदैनन् । स्थानीय तहदेखि प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरुप्रति जनताको यो गुनासो पटक पटक दोहोरिने गरेको छ । पहिलो कार्यकालमा स्थानीय तहका जनप्रतिनिधिहरुप्रति पनि यही जनगुनासो अत्याधिक सुनिन्थ्यो । धेरै स्थानमा दोहोरिएर उम्मेदवार बनेकाहरु सोही कार्यशैलीकै कारण पराजित भएको कतिपयको विश्लेषण छ ।
पराजित उम्मेदवारहरु त झन् जनताको बीचमा जानुको सट्टा उल्टै मतदातालाई गाली गर्ने र गाउँ नफर्किने समस्या पुरानै हो । तर यो पटकको स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवारहरुले भने मतदातालाई धन्यवाद दिने नयाँ संस्कार सुरु गरेका छन् । दोलखाको बिभिन्न स्थानीय तहमा पराजित भएका उम्मेदवारहरु यतिबेला गुमनाम नभई मतदातालाई धन्यवाद दिने घरदैलोमा व्यस्त छन् ।
विगु गाउँपालिका अध्यक्षमा पराजित एमाले उम्मेदवार अच्युतम केसी अहिले मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेका छन् । उनी गठबन्धनका उम्मेदवार सञ्जिव ओलीसँग कम मतान्तरले पराजित भएका थिए ।
थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेदवार जंग गुरुङले पनि प्रत्येक वडा पुगेर मतदातालाई धन्यवाद दिन भ्याईसकेका छन् । ‘राजनीतिमा थकाई भन्ने कुरा हुँदै, चुनावमा जितहार स्वभाविक हो, गुरुङ भन्छन्, ‘चुनाव अर्को उम्मेदवारले जितेपनि, हामी सँधै जनताको सुखदुखमा हुनेछौं ।’
भेटघाटका क्रममा आफुलाई भोट दिने मतदाताहरुले व्यक्त गरेको दुखमा उनले सान्त्वना दिए । चुनाव हारेको पिडा आफुलाई भन्दा मतदातालाई धेरै रहेको गुरुङले महसुस गरेका छन् ।
विकासे काम होस् या खेतीपातीका काम । उनीहरुले जनता जहाँ छन् त्यही पुगेर धन्यवाद दिएका छन् । आफुलाई भोट दिने या नदिने सबै खालका नागरिकसँग उनीहरुको भेट हुन्छ । कालिञ्चोक गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीपनि यतिवेला मतदाता भेटघाटमा छन् । ‘मेलै चुनाव हारेपनि सबै मतदातालाई धन्यवाद छ, भोट नदिनेहरुप्रति कुनै गुनासो छैन, मतदाता भेटघाटमा शिवाकोटी भन्छन्, ‘भोट दिने या नदिने सबैको साथमा हुन्छु, हामी मिलेर काम गर्नुपर्छ ।’
नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिरहँदा पराजित उम्मेदवारहरु आफ्नो घरआँगन आईपुग्दा जनतापनि दंग छन् । चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उम्मेदवारहरुले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्न आफुले सक्दो प्रयास गर्ने र गराउन खबरदारी गर्ने वचन दिईरहेका छन् ।