Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोसी पाचौं निर्माण अघि बढाईंदै, बोर्डद्धारा लगानी स्वीकृत

काठमाण्डौं - लगानी बोर्डले दोलखामा निर्माण हुने तामाकोसी भी आयोजनाका लागि वजेट स्वीकृत गरेको छ । बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी भी निर्माणका लागि बजेट स्वीकृत गर्ने निर्णय गरेको हो । तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत् आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत भएको सीईओ सुशील भट्टले जानकारी दिए ।

नेपाल विधुत प्राधिकरणले स्वदेशी लगानीमा यो आयोजना निर्माण कार्य अघि बढाईँदैछ ।तामाकोशी पाचौं माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना हो ।

यो आयोजनाको सुरी दोभानमा विद्युतगृह रहनेछ । क्यासकेड आयोजनाको रुपमा लिईएको यो आयोजनाका लागि वोर्डले लगानी स्वीकृत गरेसँगै नयाँ आर्थिक वर्षबाट आयोजना निर्माण सुरु हुने भएको छ । यो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत राखिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युतगृहमा पुर्याएर विद्युत् उत्पादन गर्ने योजना छ । माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको आठ किलोमिटर सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत गृहमा पुर्याइनेछ ।

३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानीमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हेड वक्र्सको काम नहुने भएकाले कम लगानीमा आयोजना बन्ने आँकलन छ ।

तामाकोसी ५ मा पानी लैजाने गरी व्यवस्थापन गर्न माथिल्लो तामाकोसी निर्माणकै क्रममा आधारभूत संरचनाहरु तयार गरिएको छ । सिभिलतर्फको ठेकदार कम्पनीले टेलरेस टनेललाई अर्को टनेलमा डाइभर्ट गर्न सकिने गरी गरी भूमिगत इन्टेकसहितको संरचना बनाएको हो । यो आयोजनाका लागि २५/२५ मेगावाटको ४ वटा युनिटको प्रस्ताव गरिएको छ । विद्युत उत्पादनका हिसावले यो आयोजना अन्य आयोजनाभन्दा निकै सस्तो हो । करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको प्रतिमेगावाट लगानी १५ करोड मात्रै छ ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update