Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारको अपरिपक्वता : आईतवार बिदा दिने निर्णय खारेज

काठमाडौँ - सरकार हप्तामा दुई दिने सार्वजनिक बिदा दिने निर्णयबाट पछि हटेको छ । सरकारले केही साता अघि आइतबारपनि बिदा दिने निर्णय गरेको थियो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले यो निर्णय आगामी असार १ गतेदेखि लागू हुने बताए । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update