Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गुरांसै फुल्दा वनै रमाईलो..

काठमाण्डौं — वनमा ढकमक्क गुराँस फुलेको छ । रातो, सेतोलगायत विभिन्न प्रजातिका गुराँसले डाँडापाखामा बेग्लै सुन्दरता थपेको छ । कतै कोपिला फक्रँदै गरेका त कतै बतासको सिरसिरले नृत्यमग्न पातहरुले आफ्नो सौन्दर्य छरिरहेका छन् ।

कोरोनाको विश्वव्यापी महामारीका बीच पनि भीरदेखि पाखासम्म गुराँसले नियमित प्रक्रिया छाडेको छैन । विडम्बना, गुराँससँग रम्नेहरु हिजोआज कोही छैनन् । लकडाउनका कारण हिँडडुल बन्द छ । लाग्छ, गुराँसका थुँगाहरु कोही आउने प्रतीक्षामा छन् । देशका डाँडापाखाहरु गुरासले मनमोहक बनाएका बेला कोभिड १९ (कोरोना भाईरस) ले सबैलाई घरभित्र कैद गराएको छ ।

घरमा पाहुनाका लागि चामल, दाल, नुन, तेल लगायत खाद्य सामग्री जोहो गर्नेहरु आफूलाई सुरक्षित गराएर बस्नुपरेको छ । रायोको साग, बन्दा कोभी, फूल कोभी, गाँजर, आलुजस्ता तरकारी बारीमै फलिरहेका छन् । वैकल्पिक व्यवस्था गरिएका कुखुरा, खसी, भेडा खोरमै छन् । फुलेका लालीगुराँस लकडाउनका कारण यो क्षेत्रमा पर्यटक पुग्न सकेका छैनन् ।

मध्य चैतदेखि लालीगुराँस क्षेत्रमा अधिक पर्यटक आउने गरेका थिए । नयाँवर्षमा त ठूलो भीड नै लाग्थ्यो । तराईका जिल्लाबाट आउनेहरु पनि प्रशस्तै हुन्थे । नेपालमा ३३ प्रजातिका गुराँस छन् । १२ देखि ३६ सय मिटर उचाइसम्म गुराँसको विविधता पाइन्छ ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update