मुलुक पर्यटन वर्ष २०२० को प्रारम्भमा छ । पर्यटन वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक बनाउन प्रत्येक जिल्लामा सोही अनुसारको नीति, योजना, कार्यक्रम, त्यसको सहि कार्यान्वयन र व्यवस्थापनको खाँचो छ । यद्यपी पर्यटन वर्षको प्रारम्भमै दोलखा जिल्लामा यस क्षेत्रलाई नै प्रदुषित बनाउने बिभिन्न विकृतिहरु देखिन थालेका छन् ।
विशेषगरी हिमपातको सिजनमा जिल्लामा भित्रिने पर्यटकहरुमाथि चरम ठगी भैरहेको सूचना आईरहेका छन् । यातायात व्यवसायी र होटल व्यवसायीहरुले मौकामा चौका हान्ने नाममा व्यापक ठगी गरिरहेको पर्यटकहरुको गुनासो छ । सदरमुकाम चरिकोट देखि कालिञ्चोक पुर्याउने नीजि सवारी साधनले पर्यटकहरुबाट नियमित भन्दा चर्को शुल्क असुल्ने गरेका छन् ।
पर्यटकहरुलाई आफुले भनेजति भाडा दिएमात्रै गन्तव्यमा पर्याुउने, विहान, दिउँसो र बेलुकाको छुट्छुट्टै भाडा असुल गर्ने जस्ता गलत कार्य सवारी साधनबाट भैरहेको छ । यस्तै होटल व्यवसायीहरुले लजिङ फुडिङमा कृत्रिम मेन्यु खडा गरेर पर्यटकहरुमाथि मनलागी रकम असुलिरहेका छन् । यसरी व्यापारिक स्वार्थपुर्तिको लागि अस्वभाविक रुपमा पर्यटकहरुमाथि लुटधन्दा मच्चाईएको छ ।
पर्यटकहरु जिल्लाका लागि पाहुना हुन् । अतिथि देवो भव भन्ने नेपाली साँस्कृतिक नारानै छ । तर यसरी बेलगाम रुपमा व्यापारिक स्वार्थसिद्ध मात्रै गर्ने प्रवृत्तीले उक्त नाराको धज्जी उडाईरहेको छ । ठगी गरेर व्यवसायीको पैसा कमाउने स्वार्थ त पुरा होला, तर पैसा कमाउने बहानामा जेपनि गर्ने प्रवृत्तीले सिंगो जिल्लाको बद्नाम भैरहेको छ ।
जिल्ला सुन्दर भएमात्र पर्यटक आउँदैनन्, त्यहाँका सम्बद्ध पक्षले गर्ने राम्रो नराम्रो व्यवहारले धेरै हदसम्म फरक पार्छ । पर्यटकलाई निम्ता गरेर मात्र हुँदैन, उनीहरुको यात्रा र बसाईलाई सन्तोषजनक भयो कि भएन भन्ने कुराले धेरै अर्थ र महत्व राख्छ । आफ्नो बसाईका क्रममा पर्यटकहरुले गर्ने अनुभुति र लिएर जाने सन्देशले जिल्लाको पर्यटन क्षेत्रमा दिर्घकालिन प्रभाव पर्दछ । त्यसैले प्राकृतिक रुपमा दोलखा जति सुन्दर छ, मानविय व्यवहारका दृष्टिले पनि त्यत्तिकै राम्रो जिल्लाको रुपमा स्थापित गर्नु अनिवार्य छ । एक पटक जिल्ला भित्रिएका पर्यटकलाई आजिवन भ्रमण गर्ने ईच्छा पैदा हुनेगरी प्रभावकारी व्यवस्थापनको खाँचो छ ।
पर्यटकहरुमाथि गरिने व्यवहार जिल्लाको पहिचान र परिचयसँग जोडिने भएकाले पर्यटकमैत्री वातावरण बनाउन सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । पर्यटकहरु माथि गरिने सबै प्रकारका ठगि रोक्ने ठोस कदम चाल्न जरुरी छ । तसर्थ पछिल्लो समय पर्यटकहरु भएका ठगी रोक्ने र दोषीहरु माथि कडा कारबाही गर्नतर्फ स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको तत्काल ध्यान जाओस् ।