चरिकोट – स्थानीय तह निर्वाचनमा दोलखामा ४०२ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहको बिभिन्न पदमा उम्मेदवारी दिएका ४०२ जना उम्मेदवारहरुको जमानत जफत भएको जनाएको छ । जमानत जफत हुनेहरुमा अध्यक्ष/प्रमुखका ५३ जना, उपाध्यक्ष/उपप्रमुखका १७ जना, वडा अध्यक्षका १६५ जना, सदस्यका ९८ जना, महिला सदस्यका ४२ जना र दलित महिला सदस्यका २७ जना उम्मेदवार रहेका छन् ।
कालिञ्चोक गाउँपालिकामा २८ जना, गौरीशंकर गाउँपालिकामा ५० जना, जिरी नगरपालिकामा २१ ज्ना, तामाकोसी गाउँपालिकामा ४७ जना, भीमेश्वर नगरपालिकामा ५९ जना उम्मेदवारले जमानत गुमाएका छन् । यसैगरी मेलुङ गाउँपालिकामा ५६, विगु गाउँपालिकामा ४३ जना, बैतेश्वर गाउँपालिकामा ४२ जना र शैलुङ गाउँपालिकामा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ५९ जना र सबैभन्दा कम जिरी नगरपालिकामा २१ जनाको जमानत जफत भएको हो ।
जमानत जफत हुनेहरुमा अधिकांस साना दल र स्वतन्त्र उम्मेदवार रहेपनि निर्वाचन कार्यालयले उनीहरुको बिवरण सार्वजनिक गरेको छैन । जमानत जफत भएको अवस्थामा उम्मेदवारी दर्ता गर्दा बुझाएको शुल्क फिर्ता हुँदैन । निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय र वडाअध्यक्षको लागि एक हजारका दरले शुल्क निर्धारण गरेको थियो ।