Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङ गाउँकार्यपालिकामा एमालेका ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित, गाउँसभामा एमालेको दुई तिहाई

चरिकोट - दोलखाको मेलुङ गाउँकार्यपालिकाले पुर्णता पाएको छ । शुक्रवार सम्पन्न निर्वाचन प्रक्रियाबाट ६ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएपछि गाउँ कार्यपालिकाले पुर्णता पाएको हो । ६ जना कार्यपालिका सदस्य चयनको लागि भएको निर्वाचन प्रक्रियामा अन्यको मनोनयन दर्ता नभएपछि नेकपा एमालेका ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यपालिका सदस्य चयन भएकाहरुमा दलित तथा अल्पसंख्यकतर्फ यादव घतानी, मल्लिका दर्नाल, महिला सदस्यहरुमा विन्दा पाण्डे, राममाया लामा, शान्त दाहाल र विमला नेपाली रहेका छन् । मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत विनोद कुमार खड्काले अन्यको उम्मेदवारी नपरेपछि ६ जना निर्बिरोध निर्वाचित भएको जानकारी दिए । 

नयाँ कार्यपालिका सदस्य निर्वाचित भएसँगै मेलुङको १५ सदस्यीय कार्यपालिकाले पुर्णता पाएको छ । अन्य कार्यपालिका सदस्यहरु वैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित भैसकेका छन् । मेलुङको कुल ४३ सदस्यीय गाउँसभा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या ३३ पुगेको छ । मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरा थोकर र उपाध्यक्षमा गायत्री आचार्य गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै बिजयी भएका थिए । ७ वडा वटा वडा मध्ये एमालेले ४ वटा र कांग्रेस, समाजवादी र माओवादी केन्द्रले एक एक वडा अध्यक्ष जितेका छन् । 

यसैबीच गौरीशंकर गाउँकार्यपालिकाको बाँकी सदस्यहरुपनि आज चयन भएका छन् । दलित वा अल्पसंख्यकमा नेकपा माओवादी केन्द्रको तर्फबाट लानुरी शेर्पा र आङदोर्जे शेर्पा तथा महिला सदस्यहरुमा नेपाली कांग्रेसकी डोमा शेर्पा, माओवादी केन्द्रकी देवि घतानी, गंगा चर्माकार सार्की र जिमि शेर्पा निर्वाचित भएका हुन् । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजानिक भएसँगै दोलखाको नगर र गाउँकार्यपालिकाहरुले धमाधम पुर्णता पाउन थालेका हुन् ।

यसअघि जिरी नगरकार्यपालिकाको सदस्यहरुको निर्वाचन प्रक्रिया सम्पन्न भैसकेको छ । अन्य नगर तथा गाउँकार्यपालिकाको निर्वाचन प्रक्रियापनि केही दिनमा सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update