Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको मतपरिणाम : गठबन्धनको ४५९१९ आउँदा र एमालेलाई खस्यो ३९३२० मत

चरिकोट – स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार दोलखामा सत्तारुढ गठबन्धन र एमालेले झण्डै ९० हजार मत प्राप्त गरेका छन् । जिल्लाको दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेको गठबन्धन र एमालेलाई बदरबाहेक उक्त मत झरेको हो ।

गत वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा दोलखामा १ लाख ५ हजार ७ सय ३२ मत अर्थात ६६ दशमलव ०४ प्रतिशत मतदान भएको थियो  । जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको मतपरिणाम अनुसार दुबै तर्फका प्रमुखको पक्षमा झरेको सदर मत जोड्दा ८८ हजार १ सय २ रहेको छ ।

अन्य मत बदर हुनुका साथै साना र स्वतन्त्र उम्मेदवारको पक्षमा गएको छ । ९ वटै स्थानीय तहमा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवारहरुको पक्षमा खसेको मत ४५९१९ रहेको छ । केन्द्रमा पाँच दलबीच गठबन्धनभएपनि दोलखामा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबीच मात्रै तालमेल भएको छ । त्यसबाहेक बैतेश्वरमा माओवादी केन्द्र र एकिकृत समाजवादीको तर्फबाट अध्यक्षका छुट्टै उम्मेदवारको पक्षमा  २८६३ मत खसेको छ । ९ वटै स्थानीय तहमा एमाले अध्यक्षका उम्मेदवारहरुले जम्मा ३९३२० प्राप्त गरेका छन् । 

प्रमुख पदका उम्मेदवारको पक्षमा खसेको सदर मतलाई आधार मान्दा एमाले र गठबन्धनबीचको मत अन्तर ६५९९ देखिएको छ । त्यसमा बैतेश्वरमा माओवादी केन्द्र र एकिकृत समाजवादीका संयुक्त उम्मेदवारको मत जोड्दाको अन्तर ९४६२ हुन्छ । 

भीमेश्वर नगरपालिकामा गठबन्धनका उम्मेदवारको मत ८७२३ रहेको छ भने एमाले उम्मेदवारको ७३०१ मत प्राप्त गरेका छन् । शैलुङ गाउँपालिकामा गठबन्धनका उम्मेदरलाई ४९१८ र एमाले उम्मेदवारको ४८६०, विगु गाउँपालिकामा गठबन्धन उम्मेदवारको ४१०० र एमाले उम्मेदवारको ३९७३, कालिञ्चोक गाउँपालिकामा गठबन्धन उम्मेदवारको ५७८६ र एमाले उम्मेदवारको ४६७३ मत रहेको छ ।

यसैगरी गौरीशंकर गाउँपालिमा गठबन्धन उम्मेदवारको ४७५१ र एमाले उम्मेदवारको ३७५७, वैतेश्वर गाउँपालिकामा कांग्रेस उम्मेदवारको ५२९९, माओवादी केन्द्रका उम्मेदवारको २८६३ र एमाले उम्मेदवारको ३१७२, तामाकोसी गाउँपालिकामा गठबन्धन उम्मेदवारको ५४९० र एमाले उम्मेदवारको ३४६६ मत रहेको छ । यस्तै जिरी नगरपालिकामा गठबन्धनका उम्मेदवारको २६९० र एमाले उम्मेदवारको २९४९, मेलुङ गाउँपालिकामा गठबन्धन उम्मेदवारको ४१६० र एमाले उम्मेदवारको ५१६९ मत रहेको छ । 

दोलखामा पछिल्लो पटक गरिएको अद्यावधिक बिवरण अनुसार दोलखामा कुल मतदाता संख्या १ लाख ६० हजार ९६ रहेको छ । दोलखामा नेपाली कांग्रेसले १ नगरप्रमुख, दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष, माओवादी केन्द्रले ३ गाउँपालिका प्रमुख, एक गाउँपालिका उपाध्यक्ष र नेकपा एमालेले १ नगरपालिका प्रमुख, एक गाउँपालिका अध्यक्ष र ५ उपप्रमुखमा विजय हाँसिल गरेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले एक्लै दुई नगरसहित ७ वटा स्थानीय तहमा विजयी भएको थियो । यस पटकको निर्वाचनमा बैतेश्वर, शैलुङ, मेलुुङ, विगु जिरीका बिभिन्न बुथमा बिभिन्न रुपमा बुथ कब्जा गरिएको एमालेको आरोप छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update