चरिकोट - नेपाली कांग्रेस दोलखाले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आफ्नो दल पहिलो दलको रुपमा स्थापित भएको दाबी गरेको छ । जिल्लाका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपछि सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरी कांग्रेसले यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला सभापति बर्मा लामाले निर्वाचन परिणामबाट नेपाली कांग्रेस दोलखामा पहिलो दल बनेको बताउनुभयो । कांग्रेसले भीमेश्वर नगरपालिका प्रमुख, कालिञ्चोक गाउँपालिका प्रमुख, वैतेश्वर गाउँपालिका प्रमुख र उपप्रमुख, गौरीशंकर र तामाकोसी गाउँपालिकामा उपप्रमुख जितेको छ । जिल्लाको ७४ वटा वडामध्ये कांग्रेसले २५ वडामा जित हात पारेको छ ।
कांग्रेसले जिल्लामा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै जनताको पक्षमा काम गर्न पनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।