Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुखसहित एमालेको स्पष्ट बहुमत

चरिकोट – दोलखाको दुई स्थानीय तहमा प्रमुख गुमाएको एमालेले कार्यपालिकामा भने स्पष्ट बहुमत पाएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक गरेको बिवरण अनुसार भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा एमालेका उपाध्यक्षसहित बहुमत सदस्यहरु विजयी भएका हुन् ।

भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ९ वटा वडाहरुमा प्रत्यक्ष निर्वाचनबाट ४६ जना चुनिएका छन् । जसमा ५ जना वडा अध्यक्षसहित वहुमत अर्थात २५ जना एमालेबाट निर्वाचित भएका हुन् । वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको हो ।  कांग्रेसले मेयरसहित वडा नम्बर १, ३, ४ र ८ नम्बर वडामा प्यानलै जितेको छ । मेयरसहित कांग्रेसबाट निर्वाचितहरुको संख्या २१ रहेको छ । 

यसैगरी शैलुङ गाउँपालिकामा जम्मा ४२ जना जनप्रतिनिधिहरु निर्वाचित भएकोमा एमालेको बहुमत देखिएको छ । उपाध्यक्षसहित कार्यापालिकाका २४ जना सदस्यहरु एमालेबाट निर्वाचित भएका छन् । उक्त संख्या गाउँकार्यपालिकाको कुल सदस्य संख्याको स्पष्ट बहुमत हो । शैलुङ गाउँपालिकामा ८ वडा रहेकोमा २, ४, ५ र ८ नम्बर वडाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

गाउँपालिका प्रमुखसहित ११ जना माओवादी केन्द्रबाट र ७ जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । केही सदस्य निर्वाचित कार्यापालिका बैठकबाट मनोनित गर्ने कानुनी व्यवस्था छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update