चरिकोट – दोेलखाका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार दोलखाका दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहमा मिश्रित मतपरिणाम आएको छ । सार्वजानिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले भीमेश्वर नगरपालिकाको मेयर, कालिञ्चोक र वैतेश्वर गाउँपालिकाको अध्यक्ष तथा तामाकोसी र गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
यस्तै माओवादी केन्द्रले गौरीशंकर, शैलुङ र विगु गाउँपालिकाको अध्यक्ष तथा कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षमा विजय प्राप्त गरेको छ । नेकपा एमालेले जिरी नगरपालिकाको मेयर र उपमेयर, मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, भीमेश्वर नगरपालिकाको मेयर, शैलुङ र विगु गाउँपालिकाको उपाध्यक्षमा जित निकालेको छ । एकिकृत समाजवादी तामाकोसी गाउँपालिकाको अध्यक्षमा विजय भएको छ ।
हिजो अबेर सार्वजानिक भएको विगु गाउँपालिकाको मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार संजिव वली विजयी हुनुभएको छ । उहाँले ४ हजार १ सय मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम केसीले ३ हजार ९ सय ७३ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा नेकपा एमालेकी देविका थामी विजयी भएकी छन् । उनी ४ हजार १३ सय प्राप्त गरेर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङनिमा शेर्पाले ३ हजार ८ सय २६ मत प्राप्त गरे ।
विगुका ८ वडा मध्य नेकपा एमालेले ३ र माओवादी केन्द्रले ३ नेपाली काँग्रेसले १ र स्वतन्त्रले १ वडामा विजयी भएका छन् ।
वडाहरुको नतिजा
दोलखाका सवै स्थानीय तहको मतपरिणाम सार्वजानिक हुँदा ७४ वटा वडाको पनि मिश्रित मतपरिणाम आएको छ । गठबन्धन गरेर चुनाव लडेका नेपाली कांग्रेसले २४, माओवादी केन्द्रले २२ र एकिकृत समाजवादीले दुई वडामा जितेका छन् । नेकपा एमालेले २४ वडामा जित निकालेको छ । जिल्लाको दुई वडामा भने वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।